मानव बेचबिखन विरुद्धको १७ औं राष्ट्रिय दिवस
लुम्बिनी पाना । रुपन्देहीको देवदहमा मानव बेचबिखन विरुद्धको १७ औं राष्ट्रिय दिवस मनाइएको छ । देवदह नगरपालिका, आफन्त नेपाल र रोटरी क्लब अफ बुटवल डाउन टाउनको सहकार्य तथा चेली कृषि सहकारी देवदह -७ को आयोजनामा मानव बेचबिखन विरुद्धको १७ औं राष्ट्रिय दिवस मनाइएको हो ।

कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर -७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले मानव बेचबिखन जघन्य अपराध भएको बताउनुभयो । समाजमा घट्ने यस्ता खालका जघन्य अपराधलाई सबै मिलेर निरुत्साहित गर्नुपर्ने वडा अध्यक्ष अधिकारीको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अधिकारीले पछिल्लो समय समुदायमा सामाजिक सद्भाव हराउँदै गएको बताउँदै सामाजिक न्यायका लागिका लागि सद्भाव कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

मानव बेचबिखन जस्ता अपराधीक क्रियाकलाप रोक्नका लागि समाजमा सचेतना फैलाउनु पर्ने, जनचेतना मूलक सडक नाटक लगायत अभियान संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
चेली कृषि सहकारी संस्थाका अध्यक्ष सावित्रा बश्यालले सहकारीले बचत संकलन गर्ने र ऋण लगानी मात्र नगरी आफ्ना सदस्यहरुलाई रोजगार र आत्मनिर्भर बनाउने गरि कार्यक्रम तथा तालीम संचालन गरिरहेको बताउनुभयो ।

महिलालाई रोजगार सृजना गरि आत्मनिर्भर बनाउनका लागि देवदह नगरपालिका, रोटरी क्लब लगायत संस्था सङ्ग सिलाई कटाई तालिम, व्युटी पार्लर, उद्घोषण लगायत तालिम संचालन गरिएको अध्यक्ष बश्यालको भनाई थियो । न्यून आर्थिक स्थिति भएका महिलाको आर्थिक स्तर उकास्नका लागि संस्थाले गार्मेन्ट समेत संचालन गरेको उहाँको भनाई थियो।
त्यस्तै रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष कल्पना हमालले मानव सङ्गै मानव अङ्ग बेचबिखनको शृङ्खला समेत बढेको बताउनुभयो । यस्ता खालका कार्यलाई रोक्नका लागि सरकारलेनै निगरानी राखी कडा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाई थियो ।
आफन्त नेपाल रुपन्देहीका शाखा प्रमुख पद्मा आचार्यले ललितपुर जिल्लामा केन्द्रिय कार्यालय रहेको संस्थाले हाल १० जिल्लामा मानव बेचबिखनका विरुद्ध कार्य गरिरहेको जानकारी दिनुभयो ।
रुपन्देहीको सिद्दार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा समेत प्रहरी र विभिन्न संघ संस्था सङ्ग सहकार्य गरि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको आचार्यले बताउनुभयो ।
पछिल्लो एक वर्षको अवधीमा आफन्त नेपालले १८३ जनालाई उद्दार गरिएको, १४४ जना ट्रान्जिट होम र ३६ जनालाई ड्रीम होम सेल्टरमा राखिएको आचार्यले बताउनुभयो ।
कार्यक्रममा चेली कृषि सहकारी संस्थाकि सल्लाहकार सरस्वती पोखरेलले समस्या मात्र उजागर गरेर नहुने भन्दै समाधानको बाटो पत्ता लगाई कार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।मानव बेचबिखन तथा महिला हिंसा न्यूनीकरणका लागि बृहत् रुपमा सचेतना जगाउनुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रम चेली कृषि सहकारी संस्थाका अध्यक्ष सावित्रा बश्यालको अध्यक्षता, कोषाध्यक्ष देवी अधिकारीको स्वागत र हिमाल शर्माको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij