असोज १०,देवदह ।
संघीय सरकारको 'एक स्थानीय तह एक अस्पताल' को अवधारणा र देवदह नगरपालिकाको विशेष पहलमा देवदहमा संचालनमा आएको देवदह नगर अस्पताल स्थापना भएको एक वर्ष पूरा भएको छ । प्रथम वार्षिकोत्सब अस्पतालले विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।
पहिलो वार्षिकोत्सबको अवसरमा संचालन गरिएको छाला सम्बन्धि रोगको नि: शुल्क शिविरमा १६० जना सर्वसाधारणको स्वास्थ्य परिक्षण गरिएको छ । त्यसैगरी सोही दिन आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ३१ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका अध्यक्ष एवं देवदह नगरपालिकाका नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङले नगर अस्पताल स्थापना भएपछि सर्वसाधारणको स्वास्थ्य उपचार सेवा सहज भएको बताउनुभयो ।
देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगर अस्पतालको रोकिएको भौतिक संरचना निर्माणकार्य अगाडी बढाइने बताउनुभयो ।साथै उहाँले स्वास्थ्य प्रणाली सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको समेत औल्याउँनुभयो ।
अस्पतालका प्रमुख डा. संज्ञा सेनले अस्पतालको प्रतिवेदन प्रस्तुत गर्दै अस्पताल स्थापनाकाल देखि विभिन्न विभागबाट हाल सम्म १७ हजार १२० जनाले सेवा लिएको बताउनुभयो।अस्पताल बाट सेवा लिनेमा देवदह नगरपालिकाको अलवा नवलपरासी र पाल्पाको माथागढी र तिनाउ गाउँपालिकाका विरामी समेत रहेको डा. सेनले जानकारी दिनुभयो ।

स्थापना दिवसको अवसरमा पूर्व अध्यक्ष, साविक स्वास्थ्य चौकीका प्रमुख, अस्पतालका कर्मचारी, विभिन्न संघ संस्थालाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष यक बहादुर सुनार, देवदह मेडिकल कलेजका प्रमुख गोपाल बहादुर पोखरेल, नेपाली काङ्ग्रेसका सभापति गुणाखर भूर्तेल, नेकपा एमालेका जिल्ला सदस्य प्रकाश अर्याल लगायतले अस्पतालको थप सफलताको शुभकामना दिदै मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम देवदह नगरपालिकाका नगर प्रबक्ता गणेश डुम्रेको स्वागत तथा देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बण्जाडेको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij