देवदह ११, असोज । वि.स. २०६८ मा रुपन्देहीको देवदहबाट संचालनमा आएको देवदह टेलिभिजन नयाँ व्यवस्थापन सहित संचालनमा आएको छ । देवदह नगरपालिकाको वडा नम्बर ६ मिलनचोकमा कार्यालय रहेर संचालनमा आएको टेलिभिजन हाल नयाँ कार्यालय र व्यवस्थापन सहित संचालनमा आएको हो।
नयाँ व्यवस्थापन सहित संचालनमा आएको देवदह टेलिभजनको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर उपप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि विद्या लक्ष्मी गुरुङले मिडियाले सत्य र सन्तुलित ढंगले जनताको आवाज बुलन्द गराउनुपर्ने भनाई व्यक्त गर्नुभयो।
मिडिया हाउस संचालन गर्नु चुनौतीपूर्ण भएकोले चुनौतीहरुलाई पाखा लगाउदै अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभयो।
देवदहमा रहेका मिडियाले समृद्द देवदह बनाउने अभियानमा सहकार्य गरि समाज रुपान्तरण कार्यमा सहकार्य गर्न समेत आग्रह गर्नुभयो।
कार्यक्रममा मन्तब्य व्यक्त गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्दि चरण भट्टराईले आफु संचार फिल्डकै माध्यम बाट समाजमा अभियन्ता बनेर लागेको कारण देवदह क्षेत्रमा टेलिभजन संचालनमा आउनु खुशीको कुरा रहेको भनी ब्यक्त गर्नुभयो।
त्यस्तै देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले समाज रुपान्तरणका लागि सबै मिडिया र मिडिया कर्मिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
नगर प्रबक्ता गणेश डुम्रेले संचार क्षेत्र आफैमा गहन विषय भएकोले सजक र संबेदनसिल भएर पत्रकारिता गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद वास्तोला, केरवानी माविका विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुशिला भट्टराई, महामाया भवानी माविका अध्यक्ष ऋषिश्वर अर्याल, ग्रीन प्लान्ट आवासीय माविका प्राचार्य राजीव सापकोटा, केरवानी माविका प्राचार्य निर्मल ढुंगाना, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु प्रसाद पोखरेल लगायतले शुभकामाना मन्तब्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम टेलिभिजन संचालक समितिका अध्यक्ष डाक्टर विष्णु प्रसाद शर्माको अध्यक्षता, सचिव गोबिन्द ज्ञवालीको स्वागत र कमला अर्यालको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij