असोज ३०, देवदह । देवदह नगरपालिकाले नगरभित्र उत्पादन हुने फोहोरलाई घर घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न फोहोर वर्गीकरण अभियानको सुरुवात गर्ने भएको छ ।नगरपालिकाको आयोजनामा मङ्गलबार बैठक बसि 'फोहोर बाट मोहर बनाउने' अभियान सहित पालिकाका १२ वटा वडामा यो अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।
अभियानका विषयमा जानकारी गराउदै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले दैनिक रुपमा निस्कने फोहोरलाई कुहिने, नकुहिने र शिसाजन्य फोहोरमा वर्गिकरण गरी घरमा नै व्यवस्थापन गर्न सकिने फोहोर घरमै व्यवस्थापन गर्ने र घरमा व्यस्थापन गर्न नसकिने फोहोर मात्र संकलन केन्द्रमा लगेर व्यवस्थापन गरि फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न फोहोर वर्गिकरण अभियान सुरु गरिएको बताए ।
अभियान सफल बनाउन देवदहमा रहेका सामुदायिक वन, संघ संस्था, राजनीतिक दल, विद्यालय, खानेपानी संस्था, बैंक, वित्तीय संस्था एवं सहकारी र सर्वसाधारण सङ्ग सहकार्य गरिने अधिकृत सापकोटाले जनाए।
देवदह गरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले घरमा उत्पादन हुने फोहोर ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापन गर्ने अभियानको उद्देश्य रहेको बताए ।
घरमा उत्पादित फोहोरमध्ये कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रेरित गर्दै कौशी खेती वा करेसाबारीमा सदुपयोग गर्न र पुनः प्रयोग हुने फोहोरलाई बिक्री गरी आम्दानी गर्ने र फाल्नैपर्ने फोहोरलाई छुट्टै संकलन गरी ल्याण्ड फिल्ड साइडमा व्यवस्थापन गरिने गरि अभियानको सुरुवात गरिएको नगर प्रमुख खरेलको भनाई थियो ।
नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङलेले फोहोर व्यवस्थापन चुनौतीको रुपमा रहेको र अब यसलाई नगरवासी सङ्गको सहकार्यमा अभियानका रुपमा संचालन गरि व्यवस्थित गर्न लागिएको बताए ।
कार्तिक महिना भरी फोहोर वर्गीकरण अभियानका विषयमा बैठक, प्रचारप्रसार, अन्तक्रिर्या, अनुगमन गरि मंसिर १ गतेबाट कडाईका साथ कार्यान्वयनमा लैजाने उपप्रमुख गुरुङको भनाई थियो ।
मंगलबार भएको बैठकले फोहोर वर्गीकरण मापदण्ड तयार गरी स्वीकृत गर्ने र फोहोर वर्गीकरणका लागि १ महिने तालिका समेत सार्वजनिक गरेको छ । तालिकामा सूचना तयार, माइकिङ, प्रशिक्षण, टोल विकास संस्था सङ्ग सहकार्य, फोहोर वर्गीकरण सम्बन्धि घरदैलो अभियान आदि विषय समावेश गरिएको छ ।
बैठकमा सामुदायिक वन, संघ संस्था, राजनीतिक दल, विद्यालय, खानेपानी संस्था, बैंक, वित्तीय संस्था एवं सहकारी लगायत संस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij