लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह नगरपालिका -४ भवानीपुरमा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयमा सरस्वती मन्दिर,स्वर्णस्तम्भ र बहुआयामिक मञ्चको शिलान्यास गरिएको छ ।
बिद्यालयको प्राङ्गणमा निर्माण हुन लागेको सरस्वती मन्दिर, स्वर्णस्तम्भ र बहुआयामिक मञ्चको शुक्रबार एक कार्यक्रमको आयोजना गरि शिलान्यास गरिएको हो । स्वर्ण महोत्सवको अवसरमा निर्माण हुन लागेको सरस्वती मन्दिरको देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेल, स्वर्णस्तम्भको देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङ र बहुआयामिक मञ्चको देवदह नगरपालिका वडा नम्बर -४ का वडा अध्यक्ष दमननाथ रेग्मीले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले शिक्षा भन्दा ठुलो कुरा संसारमा अरु केही नभएको बताउँदै कुनै पनि देशको सफलतामा शिक्षाको सबैभन्दा ठुलो भुमिका हुने बताउनु भयो । शिक्षक,अभिवावक विद्यालय व्यवस्थापन समिति लाग्ने हो विद्यालयको शैक्षिक स्तर सुधार गर्न सहज हुने उहाँको भनाई थियो ।
शिक्षण सिकाइमा सुधार, भौतिक पुर्वाधार र सामुदायिक सहभागितामा विद्यालयको शैक्षिक अवस्था अब्बल बनाउन सकिने बताउदैं नगर प्रमुख खरेलले नगरपालिकाले शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकता राखेर काम गरिरहेको बताउनुभयो ।

विगत लामो समयदेखि विद्यालयमा सरस्वतीको मन्दिर राख्ने अधुरो सपनालाई साकार पार्नको लागि विद्यालयका शिक्षक,विव्यस,पूर्व विद्यार्थी तथा अभिभावकको सक्रियता र सहयोगमा सरस्वती मन्दिरको शिलान्यास गरिएको बिद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले जानकारी दिनुभयो । विद्यालयले यहि फागुन १८ गते स्वर्ण महोत्सव मनाउन लागेको र महोत्सव सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल घर्तीको संयोजकत्वमा १५१ सदस्यीय मूल समारोह समिति बनाएर काम गरिरहेको बताउनुभयो ।

स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि बनेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक लिला बल्लभ भट्टराईले स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि ४० लाख रुपैयाँ खर्च अनुमान गरिएको र शैक्षिक व्यक्तित्व, दाता तथा स्थानीयको सहयोगमा स्वर्ण महोत्सव सम्पन्न गरिने बताउनुभयो।
शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल घर्ति जिसीको अध्यक्षता, विद्यालयका सल्लाहकार मणि प्रसाद शर्मा, पूर्व शिक्षक, जनप्रतिनिधि, स्थानियहरु, शिक्षकहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक चिरन्जीवी रेग्मीको स्वागत र शिक्षक काशी निर्दोषको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij