झुम्सा खानेपानी परियोजना
निर्मल एसपी थापा, पाल्पा । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उपमहानगरपालिकामा खानेपानी आपूर्ति गर्न सुरुवात गरेको झुम्सा खानेपानी योजनाको ट्रस बृज भाचिएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ र ४ जोड्ने फिरफिरे घाटमा निर्माणाधीन ट्रस बृज भाचिदा तिनाउ गाउँपालिका -४ का ३८ वर्षीय रन बहादुर गाहा मगर घाइते भएका छन् । घाइते गाहा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन् ।
बुटवल खानेपानी आयोजनाले गर्दा स्थानीयले सास्ती खेप्नुपरेको, पटकपटक राजमार्ग खनेर पाइप लाइन गाड्ने र व्यवस्थापन नगर्दा सडक बिग्रने र धुलो खाल्डोको कारण राजमार्ग यात्रा गर्ने यात्रुले वर्षौ देखि सास्ती खेप्नुपरेको तिनाउ ३ का वडा सदस्य टंक बश्यालले बताउनुभयो।
योजना कमसल र राज्यको लगानी खेर फाल्ने काम भन्दा अरु प्रतिफल नदेखिने गरि आयोजना अगाडी बढेको कारण स्थानीयलाई समस्या भएको र निर्माण कम्पनी, ठेकेदार र इन्जिनियरको लापरबाहीको कारण दुर्घटना भएको भन्दै स्थानीयले कारबाहीको माग गरेका छन् ।
शुक्रबार भएको थियो सहमति
झुम्साबाट बुटवल लैजाने खानेपानीको योजनाको बिषयमा तिनाउ गाउँपालीका, बुटवल उपमहानगपालिका, बुटवल खानेपानि संस्थान र प्रभावित क्षेत्र तिनाउ ३ र ४ का स्थानीयका बीच माघ ५ गते शुक्रबार छलफल भएको थियो । छलफलमा भएको सहमति अनुसार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाले वार्षिक २ करोड रुपैयाँ तिनाउ गाउपालिकाकोको विशेष गरेर प्रभाबित क्षेत्रको बाटो सत्यवती जाने मोटर बाटो र झुम्सा चौकिभन्ज्याङ मोटर बाटोको स्तर उन्नतिको लागि उपलब्ध गराउने (३ वर्ष सम्म), जलाधार क्षेत्र को लागि तिनाउँ गाउँपालिकाको लागि दिँदै आएको १५ लाख निरन्तरता दिने, खानेपानि संस्थान र बुटवल उप महानगरपालिकाले दिदैं आएको २५ लाख रुपैयाँ आर्थिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्दता गरेका थिए।
त्यस्तै आयोजनाका अध्यक्षले तिनाउ ३ को हेकबारी देखि आयोजनाको मुहान सम्म जाने बाटोको लागि तत्काल ५ लाख रुपैयाँ र खानेपानि तथा सिँचाइको लागि ३५०० मीटर पाइप उपलब्ध गराउने, क्षति पुगेको बालीनालीको क्षतिपूर्ति तत्कालै उपलब्ध गराउने, भत्किएका खेत बारीको संरक्षणको लागि वाल जाली लगाउने कामको सुरुवात गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए।
त्यस्तै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीयको अवरोध हटाई तत्काल काम सम्पन्न गराउने, सबै सम्झौता हरु १५ दिन भित्र लिखित गरी कार्यान्वनकोचरण मा लैजाने,उपलब्ध आर्थिक सहयोगको सही सदुपयोग गर्ने र
स्थानीयले आयोजनालाई सहयोग गर्ने सहमति भएक थियो।
दोस्रो मेलम्चीको स्वरुप बनेको झुम्सा खानेपानी योजना
झुम्सा खानेपानी परियोजना २०५२ सालमा सुरुवात भएको हो । आयोजना सुरुवात भएको २८ वर्ष पुगिसकेको छ । २०५२ सालमा बुटवलमा खानेपानी ल्याउने गरि पाल्पाको झुम्सा खोलामा ‘इन्टेक’ निर्माण र पाइप बिच्छाउने काम सुरु भएको थियो । बुटवल उपमहानगरपालिकाका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाले काम अघि बढाएको थियो ।
पहिलो चरणमा झुम्साखोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने र दोस्रो आयोजनाको कामअन्तर्गत बुटवल–३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने योजना अनुसार काम गर्ने योजनाको उदेश्य रहेको थियो।
सो आयोजनाको कूल लागत रु छ अर्ब ३५ करोड ३५ लाख छ । उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले सहित आयोजना सुरुवात गरिएपनि स्थानीयको अबरोध, नेतृत्वको लाचारिपन, निर्माण कम्पनीको लापरबाही, आयोजना सुस्त गतिमा अगाडी बढेको कारण यस परियोजनाले काठमाडौ मेलम्ची खानेपानी परियोजनाको दर्जा पाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij