एमाले देवदह नगर अधिबेशन
लुम्बिनी पाना । नेकपा एमाले देवदह नगर कमिटीको दोस्रो नगर अधिबेशन यहि माघ १३ गते हुँदैछ । अधिवेशनका लागि देवदह नगरपालिकाका १२ वटा वडाबाट प्रतिनिधि छनोट भैसकेका छन् ।
२०७८ कार्तिक १० गते भएको देवदह नगर कमिटीको प्रथम अधिवेशनबाट टिकाराम चापागाईं सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए । तर २०७९ मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टी परित्याग गरि रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएपछि नेकपा एमाले को देवदह नगर अध्यक्ष पद रिक्त रहेको थियो ।
नगर कमिटीको ३ वर्षे कार्यकाल पूरा नहुदै अध्यक्ष पद रिक्त भएपछि अहिले विशेष अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने तयारी भैरहेको छ । माघ १३ गते हुने अधिवेशनका लागि नगर अध्यक्ष पदमा केही नयाँ तथा पुराना अनुहारले आकांक्षा व्यक्त गरेका छन् ।
विष्णु अर्याल
एमाले देवदह नगर कमिटीका सचीव विष्णु अर्यालको नगर अध्यक्ष पदमा उम्मेदवार रहने चर्चा छ । नगर अध्यक्षले पार्टी परित्याग गरेको, उपाध्यक्ष संगठनमा निष्क्रिय भएको अवस्थामा स्वभाविक रुपमा आफु अध्यक्ष पदको दावेदार रहेको अर्यालले बताए ।
२०४६ सालमा स्याङ्जा पकवाडी जानकी माविबाट अनेरास्ववियुमा आबद्ध भएर राजनीतिमा होमिएका अर्याल २०४९ मा अनेरास्ववियुको प्रारम्भिक समितिको अध्यक्ष भएर ३ कार्यकाल अध्यक्षमै रहेर काम गरेको बताउँछन् ।
तत्पश्चात अनेरास्ववियु क्षेत्रिय कमिटि सहसचिव हुँदै स्याङ्जा जिल्ला कमिटी सदस्य भएका उनी २०५३ सालमा देवदह बसाइँसराइ गरि आएका थिए ।
२०५५ मा साविक केरवानि गाविस वडा ५ को तत्कालीन सचीव, गाउँ कमिटीको सदस्य हुँदै देवदह नगर सदस्य मा निर्वाचित भएका अर्यालले विद्या लक्ष्मी गुरुङ देवदह नगर अध्यक्ष हुँदा उपसचिव भएर काम गरेको बताउँछन् ।
पार्टीमा विभिन्न तह र तप्का हुँदै काम गरेका अर्याल २०७८ कार्तिकमा नगर सचीव पदमा निर्वाचित भएका थिए। माघ १३ गते हुने अधिबेशनमा अध्यक्ष पदको स्वाभाविक दाबेदार भएको उनले बताए ।
केशव भट्टराई
त्यस्तै अध्यक्ष पदका प्रमुख दावेदार हुन केशव भट्टराई , २०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिका ९ बाट वडा अध्यक्ष पदमा निर्वाचित भएका भट्टराई आफू अध्यक्ष पदको प्रमुख दावेदार रहेको बताउँछन् ।
निवर्तमान जिल्ला विभाग सदस्य भट्टराई पार्टी सुसंगठित, सुव्यवस्थित र सक्षम बनाउनका लागि अध्यक्ष पदमा आफुले दाबी गर्ने बताए । २०३८ सालमा गुल्मी जयखानीबाट युवा संगठनमा आबद्ध भएर राजनीतिमा होमिएका भट्टराई आफू १३,१४ वर्षको कलिलो उमेरमै राजनीतिमा होमिएको, निरन्तर जनताको सेवा गर्न अफुले राजनीति गरेको बताए ।
पार्टी संगठनमा शालीन स्वभावका भनेर चिनिएका भट्टराई आसन्न नगर अधिबेशनमा अध्यक्ष पदका प्रमुख दावेदार हुन् ।
विष्णु ज्ञवाली
२०४८ सालमा गुल्मीको जनाबोध उच्च मावि रानिवास बम्घा बलेटक्सारबाट विद्यार्थी संगठनमा प्रारम्भिक कमिटीमा आबद्ध रहेर ज्ञवालीले राजनीतमा प्रवेश गरेका हुन् ।
२०५५ मा पार्टीमा आबद्ध भएका ज्ञवाली २०६० सालमा देवदह बसाइँसराइ गरि आएको र २०६६ सालमा संगठनको कमिटीमा आबद्ध भएर २०६९ सालमा देवदह ५ को वडा कमिटी अध्यक्ष निर्वाचित भएका थिए ।
२०६९ सालमा आफू अध्यक्ष हुँदा वडा नम्बर ५ मा ९० जना पार्टी सदस्य रहेको र ६ वर्ष अध्यक्ष भएर काम गरि २०७५ सालमा ७२० जना पार्टी सदस्य बनाएर आफ्नो कार्यकाल सकाएको ज्ञवालीले बताए ।
लायन्स क्लब लगायत विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वमा रहेर काम गरिसकेका ज्ञवालीले संगठनलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, व्यवसायिक, सशक्त बनाउँन आफू अध्यक्ष पदमा उम्मेदवार रहने बताए ।
राजन अधिकारी
अध्यक्ष पदका अर्का आकांक्षी अधिकारी २०४४ सालदेखि अनेरास्ववियु, २०४७ मा तत्कालीन प्रजातान्त्रिक युवा संघको सदस्य, २०७४ मा पार्टी विभाग सदस्य हुँदै देवदह नगरपालिका ६ को वडा कमिटी अध्यक्ष बनेका हुन् ।
बैंक कर्मचारी संगठन जिफन्टको २०५६ र ५८ गरि कार्यकाल केन्द्रिय कमिटीको उपाध्यक्ष समेत भएका अधिकारी पार्टीलाई एकताबद्ध, सुदृढीकरण र बलियो बनाउन सक्षम रहेको बताउँछन् ।
अधिकारी सङ्ग सहकारी, सामुदायिक वन तथा बिभिन्न सामाजिक संघसंस्थामा लेखा समिति संयोजक, सल्लाहकार समिति सदस्य र विभिन्न जिम्मेवार पदमा काम गरेको अनुभव छ।
कृष्ण पौडेल
अनेरास्ववियु बाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका पौडेल ३२ वर्षीय युवा हुन् । २०६७ सालमा अनेरास्ववियु क्षेत्रीय अध्यक्ष भएका पौडेल देवदह आदर्श बहुमुखी क्याम्पसको २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रथम स्ववियु सभापति समेत हुन् ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य र अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य समेत रहेका पौडेल युवाहरूले नेतृत्व गर्ने अवसर पाउनुपर्ने बताउँछन् ।
प्राय सबै राजनीतिक दलहरुमा निहीत स्वार्थपूर्तिमा युवाहरुलाई प्रयोग गरेको देखिन्छ । युवा शक्तिलाई प्रयोग मात्र गर्नु गलत भएको र नेतृत्व दिए युवाहरुको क्षमता समेत जाँच गर्नुपर्ने पौडेलको भनाइ छ। आसन्न नगर अधिबेशनमा अध्यक्ष पदका लागि आफ्नो सशक्त दाबेदारी रहने पौडेको भनाई छ।
नगर अध्यक्ष पदमा चक्रपाणी तिवारीको समेत चर्चा छ । नेकपा एमाले पूर्व प्रदेश बिभाग सदस्य तिवारीले आफू पनि नगर अध्यक्ष पदको आकांक्षी रहेको बताए ।
नगर अधिवेशनका लागि नगरपालिकाका १२ वटै वडाबाट प्रतिनिधि छनोट भैसकेका छन् । नगरमा ७५ जना निर्वाचित र १५ प्रतिशत मनोनीत गरि कुल ८८ जना कार्यसमिति रहने व्यवस्था छ ।
निर्वाचन मण्डलका संयोजक दासिराम पाण्डेका अनुसार प्रतिनिधि, संगठन, निर्वाचनका विषयमा छलफल भैरहेको र केही विषयमा अझै तयारी गर्न बाकी रहेकोले माघ १३ गतेनै पदाधिकारी, सदस्य र अन्य पदका लागि मनोनयन दर्ता गरिने गरिने जानकारी दिए
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij