देवदह । रुपन्देहीको देवदहमा किशोरीहरुका लागि ३ दिने सचेतना वृद्धि तथा आत्मरक्षा तालिम सम्पन्न भएको छ । सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र देवदह नगरपालिकाको सहयोगमा किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुर्ववहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने तथा अपराधजन्य गतिविधिबाट आफुलाई जोगाउने उद्देश्य सहित तालिमको आयोजना गरिएको हो ।

तालिम समापन समारोहमा बोल्दै देवदह नगरपालिकाका प्रबक्ता कार्यक्रमका प्रमुख अतिथि गणेश डुम्रेले तालिमले किशोरीहरुका आत्मबल बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । देवदह नगरपालिका ५ लाई पूर्ण बालमैत्री वडा घोषणा गर्नका निमित्त आवश्यक तयारी भैरहेको र समग्रह नगरलाई समेत बालमैत्री वडा, दुर्व्यसनी मुक्त बनाउन अहोरात्र खटिरहेको बताउनुभयो ।
सचेतना वृद्धि तथा आत्मरक्षा तालिमको समापन कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, बालिका चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।३ प्रशिक्षार्थीको तर्फबाट प्रगति माविको बाल क्लबका अध्यक्ष जस्मिन गाहा मगर, सरस्वती मावि बाल क्लबका उपाध्यक्ष सजन आले, भबिस्य निर्माण मावि बाल क्लबका उपाध्यक्ष ग्रीष्मा भुसाल, सोइया किशोरी समूहका अध्यक्ष अस्मिता परियार, भवानी किशोरी समूह सदस्य मनिकला नेपालीले अनुभव सहित मन्तव्य राखेका थिए।
कार्यक्रम सोइया महिला स्वावलम्बी संस्थाका अध्यक्ष केशमाया थापाको अध्यक्षता, गल्स फस्ट फण्ड संस्थाका व्यवस्थापक मेनुका न्यौपानेको धन्यवाद ज्ञापन र एलिना हमालको संचालनमा भएको थियो। ३ दिन सम्म संचालन भएको तालिममा ५० जना किशोरीहरुको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij