स्थानीय उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्नका लागि तालिम सहयोगी हुने
देवदह । रुपन्देहीको देवदहमा काठजन्य वस्तुको हस्तकला तालिम सुरु भएको छ । 'जैविक विविधता तथा जलाधार व्यवस्थापन कार्यक्रम' अन्तर्गत सामुदायिक वन अध्ययन केन्द्र बबरमहल काठमाडौको आयोजना डिभिजन वन कार्यालय रुपन्देहीको सहजीकरण र बुद्द सामुदायिक वनको संयोजनमा २० दिने तालिम सुरु भएको हो ।

तालिम उद्घाटन गर्दै देवदह नगरपालिका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले स्थानीयलाई सिप विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्दै रोजगार र आर्थिक उपार्जनमा जोड्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गनुभयो।
देवदह नगरपालिकाले पर्यटन र कृषिक्षेत्रलाई अगाडी बढाउने गरि कार्ययोजनाहरु निर्माण गरिएको र पर्यटन र कृषिबाटै देवदहलाई समृद्द नगर बनाउन सकिने बताउनुभयो ।
आफुले सिकेको सिपको पूर्ण रुपमा सदुपयोग गरी सोही विषयमा पारङ्गत हुन र रोजगारी प्राप्त गरी समाजमा उदाहरणीय कार्य गर्न तालिममा सहभागी प्रशिक्षार्थीलाई उहाँले आग्रह गर्नुभएको थियो।
कार्यक्रममा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटाले युवाहरूलाई स्वदेशमै रोजगारीको सृजना गर्न, स्वदेशी उत्पादनको प्रयिग, स्थानीय सामाग्रीलाई प्रोत्साहन र अर्थतन्त्रलाई चलायमान बनाउन तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष एवं नगर प्रबक्ता गणेश डुम्रेले नगरपालिका, संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुमा स्थानीय उत्पादनलाई मायाको चिनोको रुपमा प्रयोग गर्न सकियो भने स्थानीय उत्पादनले बजार पाउने र व्यवसायीलाई पनि आम्दानीको श्रोत हुने भएकोले यो खालको अभ्यास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक शप्तराज बज्राचार्यले तालिम अवधिभर प्रशिक्षार्थीलाई विभिन्न मूर्ति, ढिलाखापा र नेम प्लेट बनाउन सिकाइने बताउनुभयो। तालिमले स्थानीयलाई रोजगार, स्थानीय सामाग्रीको बजारीकरण सङ्गै आम्दानीको श्रोत समेत हुने प्रशिक्षक बज्राचार्यको भनाई थियो।
तालिमको उद्घाटन सत्र सामुदायिक वन अध्ययन केन्द्र काठमाडौंका अध्यक्ष शोभा सुवेदीको अध्यक्षता, केन्द्रका अधिकृत पुष्पराज गोलेको स्वागत र बुद्द सामुदायिक वनका सचीव राधिका अर्यालको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij