देवदह । देवदह नगरपालिकामा अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म योजनाहरु सम्पन्न हुने कुरा टाढाको भयो सम्झौता समेत भैसकेका थिएनन् । तर यो आर्थिक वर्षमा भने जेठ मसान्तमै सबै योजनाहरुको सम्झौता सम्पन्न भएका छन् ।
देवदह नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा तर्जुमा गरेका आन्तरिक, प्रदेश र संघीय सरकारका साझेदारी योजनाको सम्झौता बैशाख मसान्त सम्म र जेठ मसान्तभित्र भुक्तानी लिन ताकेता गरेपछि स्थानीय सरकार संचलन भएको ७ वर्षको अवधिमा पहिलोपटक जेठ मसान्त भित्र योजना सम्झौता सम्पन्न भएको हो।
यो आर्थिक वर्षमा देवदह नगरपालिकाले तर्जुमा गरेका शतप्रतिशत योजनाहरु सम्झौता भएका छ्न भने केहि मात्र योजनाहरु सम्पन्न हुन बाकी रहेका छन् । विगतमा आर्थिक वर्ष सकिनै लाग्दा अर्थात् असार मसान्तसम्म समेत काम नसक्ने प्रवृत्तिलाई अन्त्य गर्दै यस वर्ष जेठ मसान्त भित्रै काम सम्पन्न गरि भुक्तानी दिने कार्यको नगरपालिकाले सुरुवात गरेको हो।
देवदह नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्तासंग ४ सय १४ योजना र ठेक्का पट्टाका २० वटा योजना सञ्चालन गरेको जनाएको छ । जस मध्ये ठेक्का पट्टाका १० वटा योजना सम्पन्न भैसकेको र १० वटा अन्तिम चरणमा रहेका छन् । त्यस्तै उपभोक्ता मार्फत ३८२ वटा सम्पन्न भैसकेका छन् भने ३२ वटा भुक्तानी प्रक्रियामा रहेको छ।
विगतमा समयमै काम सम्पन्न नहुने प्रवृत्ति र असारे विकासले गर्दा त्यस्ता खालका संरचनाहरु दीर्घकालीन नभएको र भुक्तानीमा समेत समस्या आएको बताउँदै देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलले विगतका कमजोरीबाट पाठ सिक्दै अगाडि बढेको बताउनुभयो ।
योजना सम्झौतादेखी सम्पन्न गर्ने सवालमा वडा स्तरमै उपभोक्ता र ठेकेदार सङ्ग समन्वय गर्दै र ढिलासुस्ती भएको योजनाहरुलाई ताकेता र निरन्तर अनुगमन र खटाईबाट जेठ मसान्तभित्रै योजना सम्पन्न गर्न सम्भव भएको नगर प्रमुख खरेलको भनाई थियो। कर्मचारी र जनाप्रनिधिको तालमेल र दृढ संकल्पले योजना कार्यान्वयन गर्न सहयोग पुगेको समेत उहाँको भनाई थियो।
देवदहलाई समृद्ध बनाउन कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता राखेको र पर्यटन प्रबर्द्धनका लागि देवदह-माथागढि सिढिमार्ग निर्माण, खयर डाडा उत्खनन, एसियाली विकास बैंक संगको सहकार्यमा लामो समयदेखिको बहस र छलफल पश्चात सडक पूर्वाधारका लागि सम्झौता भएको र यसले सडक पूर्वाधार र पर्यटनमा टेवा पुग्ने नगर प्रमुख खरेलले बताउनुभयो ।
चालु आर्थिक वर्षका योजनाहरु चैत्र मसान्तभित्र सम्झौता गरि बैशाख मसान्त भित्र सम्पन्न गरि भुक्तानी लिन ताकेता गरिएपछी छिटो छरितो रुपमा योजनाका कामहरु सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । संघीय सरकारको चालु आर्थिक वर्षको बक्तब्यमा असारे विकासलाई निरुत्साहित गर्दै चैत्र महिनाभित्रै चालु आर्थिक वर्षका योजनाहरु सम्पन्न गर्नुपर्ने नितिगत प्रबन्ध रहेकोले सोहि अनुसार ताकेता गरिएकोले असारे विकास प्रवृत्ति अन्त्यको सुरुवात गरिएको बताउनुभयो ।
योजनाका लगभग सबै काम सम्पन्न भएकोले जनप्रतिनिधि, कर्मचारीहरु आगामी वर्षको वार्षिक बजेट, नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्न र विषयगत शाखाका कर्मचारीहरु वार्षिक प्रतिवेदन निर्माणमा जुटेको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाई थियो।
चालु आर्थिक वर्षमा नगरपालिकाभित्र ३ किलोमिटर सडक कालोपत्रे गरेको, ६ किलोमिटर इन्टरलक ब्लक ३ किलोमिटर सडकहरुमा ढलान गरेको र करिव ९ ग्राभेल गरिएको पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर राजकुमार यादवले जानकारी दिनुभयो।
पालिकाभित्रका योजनाहरुको ९० प्रतिशत रकम अर्थात् ३० करोड बराबर रकम भुक्तानी भैसकेको र बाँकी भुक्तानीका लागि प्राप्त भएको फाइलमध्ये केहि संघ संस्था, उपभोक्ता समिति, र निर्माण व्यवसायीको रकम भुक्तानी दिन बाँकी रहेको आर्थिक प्रशासन शाखा प्रमुख निरज पौडेलले जानकारी दिनुभयो।
असारे विकास प्रवृत्ति अन्त्यको अभ्यास देवदह नगरपालिकाले मात्र होइन देशभरका ७ सय ५३ वटै पालिकाले गर्नुपर्ने देखिन्छ । समयमै योजना सम्पन्न गर्दा उपभोक्ता, पालिका र आम सर्वसाधारणलाई पनि सहज हुने र सुशासनको समेत प्रत्याभूति हुने देखिन्छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij