देवदह । देवदह व्यापार संघले ११ औं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार देवदह ५ पानबारी स्थित संस्थाको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको आयोजक देवदह व्यापार संघले जनाएको छ।

त्यस्तै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान समेत गरिएको छ। जनप्रीय माविमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी पाण्डप घर्ति मगरलाई एक वर्षको सम्पूर्ण अध्ययन खर्च, शैक्षिक सामाग्री र नगद १२९३७ रुपैयाँ हस्तान्तरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले जनताको सिपाही भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले उद्योगी व्यवसायीहरुलाई एकीकृत गर्दै काम गरिरहेको, व्यवसायीको हक हित र अधिकारका निमित्त समेत काम गर्दै आएकोले देवदह व्यापार संघलाई धन्यवाद व्यक्त गर्दै संस्थाको सफलताको शुभकामना दिनुभयो।

देवदहमा व्यापारिक संघ संस्थाले योजना गर्ने मेलाको प्रशङ्गमा कुरा गर्दै उपप्रमुख गुरुङले मेला ठेक्का पट्टामा दिदा आन्तरिक पुजी पलायन हुने भएकोले नगरपालिका मर्म विपरीत हुँदा समस्या निम्तिन सक्ने भएकोले मौलिक ढंगले मेल संचालन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव झविन्द्र प्रसाद कंडेल, देवदह नगरपालिका वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द बहादुर ठडराई, लायन्स क्लब अफ पाकडि बृक्षका अध्यक्ष विन्दु थापा मगरलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष पिताम्बर खरेलको स्वागत र महासचिव हरि प्रसाद भण्डारीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij