लुम्बिनी पाना, देवदह । माघ १० देखि २३ गतेसम्म संचालन हुने नवौं देवदह महोत्सवमा आवश्यक सुरक्षा व्यवस्था व्यवस्थापनको लागि सुरक्षा निकायका प्रमुखहरूसंग छलफल गरिएको छ । मंगलबार मेला सचिवालयमा गरिएको छलफलमा बोल्दै सुरक्षासंग सम्बन्धित निकायका प्रमुखहरुले सुरक्षा समस्या नहुने र सबै निकायले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
छलफलमा मेला मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ, देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेल, इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डित, शसस्त्र प्रहरी बल प्रमुख मनोज गुरुङ, देवदह प्रहरी चौकीका प्रमुख एक्कबहादुर नेपाली लगायतको उपस्थिति रहेको महोत्सव सुरक्षा उपसमिति संयोजक खड्ग बहादुर पुनले जानकारी दिए ।
देवदह व्यापार सङ्घ रूपन्देहीको आयोजनामा सञ्चालन हुने महोत्सव बिहिबार नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने छन् । उद्घाटन अघि खैरेनीको लोकेश्वरदेखि देवदह मण्डपसम्म विभिन्न सङ्घसंस्थाको सहभागितामा झाँकीसहित र्यालीको आयोजना गरिएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij