लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा मातृभाषा संरक्षणमा स्थानीय सरकारको भूमिका र देवदह मदर टङ्स एकेडेमीको योगदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। २५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा देवदह मदर टङ्स एकेडेमीले कार्यक्रम आयोजना गरेको हो।
अन्तरक्रिया कार्यक्रममा मातृभाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउन सकेमात्र संरक्षण, सम्बर्द्धन हुने अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । स्थानीय तहले प्रकाशन गर्ने स्थानीय पाठ्यक्रममा मातृभाषालाई समेट्न आवश्यक रहेकोमा बक्ताहरुले जोड दिएका थिए।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख धुब्र प्रसाद खरेलले मातृभाषा संरक्षण, सम्बर्द्धन गर्ने गरी नीति निर्माण गर्न नगरपालिका तयार रहेको बताउनु भयो । उहाँले मातृभाषा संरक्षण, सम्बर्द्धनमा देवदह मदरटङ्गस एकेडेमीको भूमिका महत्वपूर्ण रहेको बताउदै देवदह मदरटङ्गस एकेडेमीलाई मातृभाषाको शिक्षक-शिक्षिका उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।उहाँले देवदह मदरटङ्गस एकेडेमीलाई मातृभाषाको शिक्षक-शिक्षिका उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङले भौतिक पुर्वाधार संगै मानवीय विकास हुन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले मातृभाषालाई पर्यटन संग पनि जोडेर लैजान सके यसको संरक्षण, सम्बर्द्धन हुने बताउदै भाषा, संस्कार, संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान कायम हुनेमा जोड दिनु भयो ।
सोही अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टाले पछिल्लो समय मातृभाषा लोप हुने अवस्थामा रहेको बताउदै मातृभाषा संरक्षण र सम्वद्र्धनको लागि स्थानीय तहले बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो । उहाले मातृभाषा संरक्षणको लागि स्थानीय तहले मातृभाषाको पाठ्यक प्रकाशन गर्नुपर्ने बताउनु भयो ।
देवदह मदरटङ्गस एकेडेमी विद्यालय सहयोग समितिका अध्यक्ष वसन्त दहालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता गणेश डुम्रे, मातृभाषा सोधकर्ता ताराप्रसाद पोखरेल, निर्मल ढुगाना, निर्मल एसपी थापा, माधव रिमाल, मिना श्रेष्ठ, कृष्णप्रसाद गैरे, बोधराज गौडेल, कुशल श्रेष्ठ, सुरेन्द्र चौधरी, विनोद थापा, विष्णु पोखरेल, तिलोचन दहाल, अर्जुन गैरे, धनलाल सुवेदी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा विद्यालय प्रिन्सिपल रामबहादुर गुरुङ्गले कार्यक्रमको उद्देश्य वारे प्रकाश पार्नु भएको थियो । विद्यालयका प्रवन्ध निर्देशक भिमप्रसाद गुरुङ्गको धन्यवाद र सहायक प्रिन्सिपल यमलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij