लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह ९ र १० मा अवस्थित भलुही खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहिवार भलुही स्थित जनप्रीय सामुदायिक वनको सभा हलमा संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो।
साधारण सभामा बोल्दै प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका प्रमुख शेखर चन्द्र केसिले शुद्ध खानेपानी पिउन पाउने हरेक नागरिकको अधिकार भएको र शुद्ध पानी बिना स्वास्थ जिवनको परिकल्पना गर्न नसक्ने भन्दै सबै उपभोक्ता माझ स्वच्छ पिउने पानीको प्रबन्ध मिलाउने योजना सहित लागिरहेको बताउनुभयो।सबै खानेपानी उपभोक्ता संस्थाहरु सङ्ग समन्वय र सहजीकरण गर्दै कार्ययोजना बनाइरहेको उल्लेख गर्नुभयो।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख सल्लाहाकार तथा देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिरा बहादुर खत्रीले संघ संस्था र जनप्रतिनिधीहरुको कार्यगत एकता बाझिएका कारण भने जस्तो विकास हुन नसकेकोले बहुबर्षे र दिर्घकालिन सोंचका साथ योजना तर्जुमा गर्नु पर्ने भनाई राख्नु भयो ।
त्यस्तै कार्यक्रममा खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार एवं देवदहका अध्यक्ष गुमान सिंह कुवर क्षेत्रीले उपभोक्तालाई शुद्द र स्वच्छ पानी उपलब्ध गराउने कर्तव्य स्थानीय सरकार र खानेपानी संस्थाको भएको भन्दै खानेपानी सहज उपलब्ध गराउन स्थानीय सरकार र खानेपानी संस्थाबिच समन्वय गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार एवं कोलिय देवदह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम सापकोटा, देवदह नगरपालिका वडा नम्बर ९ का अध्यक्ष मोहन बहादुर जीसी, देवदह १० का अध्यक्ष यक बहादुर सुनार, जनप्रीय सामुदायिक वन तथा उपभोक्ता समितिका अध्यक्ष रुका सापकोटा, रोहिणी सामुदायिक बनका अध्यक्ष चन्द्र बहादुर रसाईली, तमु समाज देवदह अध्यक्ष मन बहादुर गुरुङ तथा विभिन्न संघ संस्थाका प्रतिनिधिले शुभकामना व्यक्त गर्नुभएको थियो।
साधारणसभामा अध्यक्ष रामप्रसाद सापकोटाले संस्थाले उपभोक्ताले पिउने पानीको स्वच्छतालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो।अध्यक्ष सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २ करोड ४२ लाख ९३ हजार ९ रुपैयाँ ४५ पैसा बराबरको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा कोषाध्यक्ष जस बहादुर पुनले कोषाध्यक्षको प्रतिवेदन तथा लेखा समिति संयोजक जस कुमार पुनले लेखा प्रतिवेदन वाचन गर्नु भएको थियो । साधारण सभाको अवसरमा पूर्व कार्यसमिति सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।
साधारणसभा संस्थाका अध्यक्ष रामप्रसाद सापकोटाको अध्यक्षता, संस्थाका उपाध्यक्ष निर बहादुर शाहनीको स्वागत तथा सचिव कृष्णमाया रानाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij