लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा एकहप्ते वन डढेलो नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन हुने भएको छ।गाउँ वन समन्वय संजाल रुपन्देहीको आयोजनामा वन डढेलो नियन्त्रण अभियान संचालन गर्न लागिएको हो।
संजालको बुधबार सब डिभिजन वन कार्यालय शितलनगरमा सम्पन्न बैठकले पहिलो चरणको कार्यक्रम अन्तर्गत चैत ७ गते वृहत् जनचेतना र्याली गर्ने निर्णय गरेको अध्यक्ष खेम नारायण अधिकारीले जानकारी दिनुभयो। सञ्जालमा आवद्ध सबै सामूदायिक वनहरूको सहभागीतामा गरिने सचेतना र्यालीमा सामुदायिक वन, स्थानीय संघसंस्था र आमा समूहको समेत सहभागीता हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।
शितलनगर स्थित सव डिभिजन वन कार्यालयबाट बिहान ७ बजे सुरु हुने र्याली स्मृति सामुदायिक वन, शिवालय सामुदयिक वन हुँदै बुद्ध सामुदायिक वनको कार्यालयमा पुगेर समापन हुने र र्यालीमा तीन सय जनाभन्दा बढीको सहभागि हुने सञ्जालका सचिव टेक बहादुर रानाले बताउनुभयो ।
र्यालीमा सहभागीले प्लेकार्ड तथा सचेतनामुलक सामग्रीसमेत प्रदर्शन गर्ने जनाइएको छ । सचेतना कार्यक्रम एक साता सम्म गरिने भएपनि बर्षा नहुन्लेल सम्म अग्नि नियन्त्रण रेखा निर्माण र आगलागी नियन्त्रणका अन्य कार्यक्रमहरु निरन्तर जारी रहने र वन डढेलो लगाउनु कानुनी तथा सामाजिक अपराध भएकाले त्यस्तो कार्य गर्नेलाई कानुन बमोजिम कारवाही गरिने समेत उहाँको भनाई थियो।
डढेलोका कारण मानव स्वास्थ्य तथा जिवजन्तुमा समेत असर पर्ने भएकोले देवदहका सामूदायिक वनहरूले डढेलो नियन्त्रणलाई प्राथमिकतामा राखेको सञ्जालका उपाध्यक्ष रुका सापकोटाले बताउनुभयो । डढेलो नियन्त्रण सामूदायिक वनको मात्र नभएर आम नागरिकको दायित्वसमेत भएको उल्लेख गर्दै उहाँले जनचेतना र्यालीमा सहभागिताको लागि सबैलाई आह्वान समेत गर्नुभयो ।
फाल्गुनदेखि जेठसम्म वनमा अत्याधिक डढेकोको जोखिम हुने भएकाले आगामि तीन महिना वनमा अत्यन्तै निगरानी बढाईने सितलनगर सब डिभिजन वन कार्यालयका प्रमुख रविन्द्रनाथ चौधरीले बताउनुभयो । उहाँले यस क्षेत्रमा रहेको वन सामुदायिक वन र साझेदारी वन अन्तर्गत रहेकाले सवै वनलाई अवको तीन महिना थप वन हेरालु व्यवस्थापन गरेर सम्भावित डढेलोको जोखिमलाई न्युनिकरण गर्न सुझाइएको जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij