लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा वन डढेलो नियन्त्रण सम्वन्धी सचेतना सप्ताह–२०८१ सम्पन्न भएको छ । गाउँ वन समन्वय सञ्जाल रुपन्देहीको आयोजना, डिभिजन वन कार्यालय रुपन्देही, सव डिभिजन वन कार्यालय शितलनगर र सञ्जालमा आवद्ध सामुदायिक वनहरुको संहयोगमा वन डढेलो सचेतना सप्ताह–२०८१ सम्पन्न भएको हो ।
मिलन सामुदायिक वन उपभोक्ता समुह देवदह–तिलोत्तमाको कार्यालयबाट शुरु भएको वन डढेलो सचेतना र्याली रोहिणी सामुदायिक वन, जनप्रिय सामुदायिक वन हुदै पाल्पाली सामुदायिक वन क्षेत्रमा पुगेर समापन भएको थियो । वन डढेलो सचेतना सप्ताह–२०८१ लाई समापन गर्दैै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविन बिडारीले बर्षेनी लाग्ने वन डढेलोका कारण करोडौं रुपैंयाको नोक्सानी हुने गरेको बताउनु भयो ।
उहाँले वन डढेलोका कारण वन्यजन्तुको वासस्थान जलेर नष्ट हुने र वातावरणीय सन्तुलनमा समेत खलल पुग्ने हुदा वन डढेलो नियन्त्रणमा सवैले आ–आफनो भूमिका निभाउन आग्रह गर्नु भयो । प्रमुख विडारीले वन क्षेत्रमा लाग्ने वन डढेलो नियन्त्रण गर्नु भन्दा वन डढेलो लाग्न नदिनु नै उचित विकल्प रहेको भन्दै वन डढेलो नियन्त्रणको लागि गाउ वन समन्वय सञ्जालले गरेको सचेतना र्यालीको सह्राहना गर्नु भयो ।
उहाँले वन डढेलो नियन्त्रणको लागि हरेक वर्ष प्रयास गरेपनि यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको उल्लेख गर्नु भयोे । उहाले नेपाल जस्तो गरिव देशमा वन डढेलोले थप समस्या निम्त्याउने गरेको बताउदै वन डढेलो नियन्त्रणको लागि आमउपभोक्ता संगै सरोकारवाला सचेत र सजग हुन आवश्यक रहेको औल्याउनु भयो । प्रमुख विडारीले डढेलो नियन्त्रणको सवैभन्दा उपयुक्त विकल्प भनेको हरेक नागरिकमा सचेतना जगाउनु भयो यो काम सञ्जालले गरेको छ ।
मानविय कारणबाटै अधिकांश वनमा डढेलो लाग्ने भएकाले हरेक मानिसको मनमष्तिष्कमा डढेलो लगाउन हुँदैन भन्ने धारणा विकास हुनुपर्छ । कार्यक्रममा बोल्दै देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख जयकिशन अधिकारीले देवदहका सामुदायिक वनहरुले डढेलो नियन्त्रणका लागि गरिरहेको प्रयासको प्रशंसा गर्नु भयोे । उहाले क्याम्पसले समेत यस क्षेत्रमा डढेलो नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम गरिरहेको जानकारी दिनु भयो ।
गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रिय सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष टेकबहादुर विक लगायतले आ–आफना भनाई राख्नु भएको थियो । पाल्पाली सामुदायिक वनका अध्यक्ष सरोज थापाको स्वागत र सञ्जालका सचिव टेकवहादुर रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij