लुम्बिनी पाना, देवदह । वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय रुपन्देहीले देवदहको शितलनगरमा सरोकारवाला निकायसँग छलफल तथा अन्तरक्रिया गरेको छ । देवदह सव डिभिजन वन कार्यालय शितलनगरमा सोमबार छलफल तथा अन्तरक्रियाको आयोजना गरिएको हो। डिभिजन वन कार्यालय रुपन्देहीको समृद्धिको लागी वन कार्यक्रम अन्तर्गत डढेलो नियन्त्रणका लागी अग्नि रेखा सम्बन्धि जानकारी, अग्नि दस्ता निर्माण र सामुदायिक वनमा वन डढेलो फोकल पर्सन व्यवस्था गर्ने विषयमा सरोकारवाला सङ्ग छलफल गरिएको हो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका वडा नम्बर -७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले वन डढेलो नियन्त्रणका लागि उपभोक्ता तथा स्थानीयसँगको समन्वय र सहकार्य जरूरी रहेको बताए । सामुदायिक वनले वन संरक्षणमा खेलेको भूमिका महत्त्वपूर्ण भएको बताए।
अध्यक्ष अधिकारीले वन डढेलो चोरी शिकारी गर्न जानेको लापरवाही, घाँस उमार्न आगो लगाउने, चुरोट खाएर ननिभाइ ठुटा फाल्ने, मनोरन्जनका लागि आगो बालेर ननिभाई छोड्ने, सरसफाईका लागि आसपासका झाडी सफा गर्ने गर्दा आगलागीले ठूलो रुप लिने भएकोले यी कार्य गर्दा सचेत रहन र सामुदायिक वनहरुलाई सचेतना अभियान संचालन गर्न आग्रह गरेका थिए।
कार्यक्रममा बोल्ने सरोकारवालाले देवदहका अधिकाश वन क्षेत्र चुरे क्षेत्रमा रहेको कारण चुरे क्षेत्र संरक्षण गर्न नसके खानेपानीको जटिल समस्या व्यहोर्नुपर्ने भन्दै चुरे क्षेत्र जोगाउन सबै मिलेर लाग्नुपर्ने बताएका थिए। देवदह सव डिभिजन कार्यालय र गाउँ वन समन्वय संजाल सङ्गको संयुक्त पहलमा सामुदायिक वनहरुले विभिन्न चरणमा सचेतनामूलक अभियान संचालन गरिरहेको वक्ताहरुको भनाई थियो।
देवदहमा रहेका सामुदायिक वनहरुले डढेलो नियन्त्रणका लागी हाल सम्म गरेका प्रयास र अबका तयारीका विषयमा गरिएको छलफलमा सामुदायिक वनका प्रतिनिधिहरुले जनशक्तिको र बजेटको अभाव, प्रविधि सम्बन्धि ज्ञान नहुनु, जंगली जनावरहरुको जोखिम, कठिन भौगोलिक बनावटका कारण आगलागी नियन्त्रणमा समस्या सृजना भएको जानकारी गराएका थिए। सबै तहको समन्वय र सहकार्यबाट आगलागीका घटना हुनै नदिने र भइहाले नियन्त्रण गर्नका लागी सामुदायिक वनको श्रोत उपलब्धता अनुसार वन हेरालु र अग्नि दस्तालाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको सामुदायिक वनका प्रतिनिधिहरुले बताएका थिए।
छलफलमा देवदह सव डिभिजन वन कार्यालय शितलनगरका वरिष्ठ वन अधिकृत रविन्द्र चौधरी, देवदह प्रहरी चौकीका इन्चार्ज एक्क बहादुर नेपाली, सहायक वन अधिकृत गौतम खालापाला, देवदहमा रहेका बुद्द सामुदायिक वन, प्रगति सामुदायिक वन, शिवालय सामुदायिक वन, स्मृति सामुदायिक वन, जनप्रीय सामुदायिक वन, रोहिणी सामुदायिक वन, पाल्पाली सामुदायिक वन, सरहनकाली सामुदायिक वन, बुद्दनगर सामुदायिक वन, मिलन सामुदायिक वन, सृजना सामुदायिक वन, पेटवनिया सामुदायिक वन, सिक्टहन सामुदायिक वन, कालिका सामुदायिक वन, सृष्टि, चेतना महिला सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij