लुम्बिनी पाना, देवदह।रुपन्देहीको देवदह नगरपालिकामा राजश्व संकलन लक्ष्य अनुसार नहुदा आयोजना सम्झौता कार्य प्रभावित भएको छ।आर्थिक वर्ष २०८१/०८२ मा देवदह नगरपालिकाले लक्ष्य लिए अनुसारको राजश्व संकलन नभएको कारण योजना सम्झौता कार्य स्थगित गरिएको नगरपालिकाले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
नगरपालिकाका शाखा अधिकृत रमेश गिरिका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले अनुमान गरे बमोजिमको राजश्व संकलन नभएको साथै संघ तथा प्रदेशबाट प्राप्त हुने राजश्च वाँडफाँड तथा समानिकरण अनुदान वापतको रकम निकासामा समेत कटौती भएकोले कार्यक्रम तथा आयोजनाहरुको भुक्तानीमा कठिनाई हुन सक्ने भएकोले अर्को व्यवस्था नभएसम्मका लागि नगरस्तरीय / वडास्तरीय / शाखागत कार्यक्रम तथा आयोजनाहरुको सम्झौता चैत २२ गते देखी लागु हुने गरी स्थगित गरिएको हो।
नगरपालिकाबाट स्वीकृत शशर्त, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, स्थानीय आर्थिक विकास सूचकाङ्ग लगायत नगरपालिकाको मूल्याङ्कन र कार्यसम्पादन मूल्याङ्कन हुने सूचकहरुसँग सम्बन्धित कार्यक्रमहरु भने प्रभावित नहुने सूचनामा उल्लेख छ।
देवदह नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा २५ करोड ४६ लाख ८८ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर फागुन मसान्त सम्म ४ करोड ५४ लाख मात्र राजश्व संकलन भएको छ । चालु खर्च तर्फ २७ करोड ७२ लाख ६२ हजार ९ सय ६२ र पुजीगत तर्फ ७ करोड ३१ लाख ९४ हजार १५५ रुपैयाँ खर्च भएको र २०७३ साल देखि हाल सम्म २० करोड ५४ लाख ३३ हजार बेरुजु रहेको छ।
देवदह नगरपालिकाले आ.व. २०८१/०८२ मा १ अर्ब ५० करोड १० लाख ६५ हजार पाँच सय रूपैयाँको बजेट ल्याएको थियो। संघीय सरकारबाट १२ करोड ९९ लाख र प्रदेश सरकारबाट ८ लाख १ हजार ८४० राजश्व बांडफांड मार्फत आम्दानी हुने अनुमान गरिएको थियो। बजेटमा संघीय सरकारबाट ४० करोड भन्दा बढी र प्रदेश सरकारबाट ४ करोड अनुदान प्राप्त हुने अपेक्षा गरिएको थियो।
गतवर्ष १८ करोड ४१ लाख ६० हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरले असारसम्म १० करोड २० लाख हाराहारीमा राजस्व संकलन गरेको थियो।यस वर्ष पनि फागुन सम्म साढे ४ करोड राजश्व संकलन नहुने देखिन्छ।घाटा बजेटको कारण योजनाको कामहरू प्रभावित हुन सक्ने देखिन्छ।
नगरपालिकाले यस वर्ष नदिजन्य पदार्थ निकासीको लागी टेन्डर आह्वान गरेकोले ५ देखि ७ करोड राजश्व संकलन हुने देखिन्छ। लक्ष्य भेट्टाउन नदिजन्य पदार्थबाट प्राप्त रकम अपर्याप्त देखिन्छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij