लुम्बिनी पाना,देवदह । रुपन्देहीको देवदहमा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदहले आफ्ना सेयर सदस्य किसानद्वारा उत्पादित सामाग्री संकलन तथा बिक्रीवितरण सुरु गरेको छ। बिहिवार संस्थाको २९ औं स्थापना दिवसको अवसर पारेर उत्पादित सामाग्री बिक्रीवितरण कार्यको सुरुवात गरेको हो।
बिक्रीवितरण केन्द्रको सुभारम्भ गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले कृषिलाई विशेष प्राथमिकतामा राखेर उत्पादन कार्यलाई प्राथमिकता दिनुपर्ने भनाई व्यक्त गर्नुभयो। त्यस्तै उहाँले सहकारीले उदेश्य नीति र विधि अनुरुप चल्न आवश्यक रहेको समेत बताउनुभयो।बचत संकलन र ऋण लगानीको सिमित दायराबाट माथि उठ्दै सहकारीहरुले उत्पादन र बजारीकरणमा काम गर्नुपर्ने नगर प्रमुख खरेलको भनाई थियो।
त्यस्तै कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले सहकारीका शेयर सदस्य र लगानी असुरक्षित ठाउँमा भएको छ कि छैन सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।सहकारीमा हाल देखिएका समस्या रातारात जन्मिएका नभइ लामो समयदेखिको अभ्यासले निम्त्याएको जटिलता भएको उल्लेख गर्दै उनले आजैबाट असल अभ्यास सुरु गरिए दिर्घकालसम्म त्यसको प्रभाव रहने भनाई व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष टिका न्यौपानेले कृषिक्षेत्रमा विचौलियाको अन्त्य गर्न कृषि सामग्री संकलन तथा विक्री केन्द्र सुरु गरिएको बताउनुभयो । हाल पाँच लाख लगानीमा सुरु गरिएको केन्द्रमा आवश्यकता अनुसार लगानी बढाउँदै लैजाने बताइन् । आफ्नो सहकारीका शेयर सदस्यको मात्र नभइ आवश्यकता अनुसार अन्य सहकारीमा आवद्ध कृषकका उत्पादन पनि संकलन गरिने उहाँको भनाई थियो।
देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, सहकारीका संचालक समितिका पदाधिकारी उपस्थिति रहेको कार्यक्रममा सहकारीका पुर्व संचालक तथा जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij