लुम्बिनी पाना । आजको दिनलाई असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ ।आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभकार्य गरिँदैन । आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ । तुलसी रोपण एकादशी पनि भनिन्छ ।आज सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ। आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ। धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि त्यसै पूर्णिमामा चतुर्मास सम्पन्न हुने उल्लेख छ।
आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत-उपवास र पूजापाठलाई महत्त्व दिइन्छ।
वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्व दिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन्।आइतबार ३८ घडी ३३ पला अर्थात् बेलुकी ८ बजेर ४० मिनेटसम्म एकादशी तिथि रहेको पञ्चांगमा उल्लेख छ।
पौराणिक कथा
सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन वर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो । प्रजाको दयानीय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए ।
यसै क्रममा विचरण गर्दै राजा मान्धाता अङ्गिरा ऋषिको आश्रममा पुगे । राजाको कुरा सुनेर अङ्गिरा ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा अवश्य पानी पर्नेछ ।’ अङ्गिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधिविधानपूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो ।
पुराणमा असार एकादशीलाई विशेष महत्व दिइएको छ । धार्मिक मान्यता के छ भने यस दिन भगवान विष्णुको पूजा र व्रत गर्नाले समस्त मनोकामना पूरा हुन्छ र भगवान प्रशन्न हुन्छन् ।
पूजा विधि : बिहान उठेर नुहाएर शरीर शुद्ध गर्ने । त्यसपछि देवशयनी एकादशी व्रत बस्न सकिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुपर्छ । भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाउनुपर्छ । उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गर्नुपर्छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij