लुम्बिनी पाना, युएई । गैरआवासीय नेपाली संघ, यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजना तथा नेपाली राजदूतावास, अबुधाबीको संरक्षकत्वमा यही मिति २०८२ साल आषाढ २९ गतेका दिन दुबईमा "सुरक्षित आप्रवासन सम्बन्धी सचेतना तथा श्रमिक संवाद कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा यूएईमा कार्यरत नेपाली श्रमिकहरूको हक, अधिकार, र सुरक्षा सम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। साथै, वैदेशिक रोजगारीमा आउदाँ अपनाउनु पर्ने सावधानी, नियम, कानून र समस्याहरूको समाधान प्रक्रिया, तथा श्रमिकहरूको भोगाइ र अनुभव आदानप्रदान गरियो। उक्त कार्यक्रममा श्रमिकहरूका समस्याहरू सुन्ने, सरोकारवाला निकायबाट जवाफ र समाधानका उपायहरू प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिएको थियो। कार्यक्रममा नेपाली राजदूतावास अबुधाबीका महामहिम राजदूत श्री तेज बहादुर क्षेत्री लगायतका विभिन्न पदाधिकारीहरु, नेपाली महावाणिज्यदूतावास दूबईका महावाणिज्यदूत श्री हरि प्रसाद ओडारी लगातयका पदाधिकारीहरु र विभिन्न सामाजिक संघसंस्था तथा विभिन्न कम्पनीहरुमा कार्यरत Security Guards, निर्माण क्षेत्र लगायत अन्य क्षेत्रमा कार्यरत श्रमिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
दुबई पुलिसको तर्फबाट लेफ्टिनेन्ट सुश्री मैथा मोहम्मद, मेजर अली र अपराध रोकथाम टोलीका सार्जेन्ट श्री यार मोहम्मद कासेमको विशेष उपस्थिति रहेको थियो। श्री कासेमले युएईमा श्रमिकहरूले रहँदा बस्दा अपनाउनु पर्ने कानुनी सावधानी, सुरक्षा, मर्यादित व्यवहार तथा दुबई पुलिस एपको "Police Eye" सुविधा बारे विस्तृत जानकारी दिँदै यसको प्रयोग गर्न श्रमिकहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा श्रम काउन्सेलर दिपेन्द्र पौडेलले युएईमा कार्यरत श्रमिकहरूले भोगिरहेका समस्या तथा समाधानका उपायहरूबारे जानकारी दिनुभयो।
प्रथम सचिव तिल बहादुर सुनारले पासपोर्ट तथा कन्सुलर सेवासम्बन्धी जानकारीहरू प्रस्तुत गर्नुभयो। श्रम सहचारी पंकज लाभ कर्णले सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको सहभागिता, निरन्तरता र लाभहरूबारे सहजीकरण गर्नुभयो।
कार्यक्रमको समापन गर्दै महामहिम राजदूत तेज बहादुर क्षेत्रीले राजदूतावासले सीमित स्रोत र जनशक्तिका बाबजुद दिनरात नभनी प्रवासी नेपालीहरूको सेवा, सहयोग र सुरक्षामा समर्पित रहेको कुरामा जोड दिनुभयो। दूतावासको आधिकारिक फेसबुकवाट "श्रमिकसंग संवाद" लाइभ कार्यक्रम निकट भविष्यमा छिट्टै संचालन गर्ने र त्यसवाट अझ छिटो, छरितो र आफू रहे वसेको ठाउँवाट परेका समस्याहरु, असुविधाहरु, सूचना र जानकारीहरु प्राप्त गरि लाभान्वित हुन सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij