रौतहट। रौतहटको पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे ।
झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।
खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि मेयर जयसवालले धाकधम्की दिँदै गालीगलौज गरेका थिए । मेयर जयसवालले दिएको धाकधम्कीका कारण पत्रकार प्रजापति तनावमा थिए ।आत्महत्याको कारण खुल्न नसकेपनि स्थानीयले मेयरको धाकधम्कीको कारण हुन सक्ने शंका गरेका छन्।
मेयर जयसवालले पत्रकार प्रजापतिलाई दिएको धाकधम्कीविरुद्ध प्रेस चौतारी रौतहट शाखाले गत जेष्ठ २९ मा विज्ञप्ती समेत जारी गरेको थियो । चौतारीका रौतहट शाखा अध्यक्ष अशोक पहाडीले विज्ञप्ती जारी गर्दै पत्रकारलाई मेयर जयसवालले दिएको धाकधम्की विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरेका थिए ।
गरुडाका डीएसपी राजन कार्कीले मृतक पत्रकार प्रजापतिलाई मेयर जयसवालले धाकधम्की दिएको विषयमा थाहा नभएको बताए । मेयरले धम्की दिएको थियो भन्ने कुरा थाहा नभएको र घटनाको अनुसन्धान भइरहेको डीएसपी कार्कीको भनाई छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij