लुम्बिनी पाना, देवदह । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले देवदह नगरपालिका–७ स्थित मदन आश्रित पार्क हुँदै हिलेटोल जाने सडकको स्तरोन्नति कार्यको अनुगमन गर्नुभएको छ।

संघीय सरकारको आर्थिक वर्ष २०८१/०८२ मा २ करोड १७ लाख रुपैयाँ लागतमा करिब ११६० मिटर लामो सडक स्तरोन्नति गरिएको हो।
पहिलो चरणमा १ करोड रुपैयाँ, र दोस्रो चरणमा १ करोड १७ लाख रुपैयाँ लागतमा उक्त सडक स्तरोन्नति गरिएको हो। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रुपन्देहीका इञ्जिनियर शुसिल रसाईलीले पनि योजनाबारे जानकारी गराउनुभयो।
सो अवसरमा बोल्दै सांसद विश्वकर्माले संघीय सरकारले अबदेखि ३ करोडभन्दा कम लागतका योजना बनाउने अनुमति नदिने नीति अवलम्बन गरिरहेको बताउनुभयो।
साना योजना तथा निर्माणकार्यमा प्रदेश र स्थानीय सरकारको अग्रसरता आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो। स्थानीयवासीहरूलाई विकास निर्माणका संरचनाको संरक्षण तथा मर्मतमा सक्रिय हुन पनि सांसद विश्वकर्माले आग्रह गर्नुभयो।
त्यसै अवसरमा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले अव्यवस्थित तथा सुकुम्बासी बासिन्दालाई यसै साउनभित्र लालपुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल ८४४ वटा लालपुर्जा तयार भइसकेका छन्।
कार्यक्रममा सहभागी राष्ट्रपति चुरे संरक्षण कार्यान्वयन कार्यालय रुपन्देहीका प्रमुख अणनाथ बरालले स्थानीय तहसँग सहकार्य गरी चुरेक्षेत्रको संरक्षण गर्न कार्ययोजना अघि बढाइएको बताउनुभयो। उहाँले तटबन्धन र वृक्षारोपण कार्यका लागि बजेट विनियोजन भइरहेकोले समयमै योजना प्रस्ताव गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।
वडाध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न अनुगमन कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगरप्रवक्ता गणेश डुम्रे, टोल विकास संस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij