|
संक्षिप्त विवरण -देवदह नगरपालिका-४ प्रगतिटोलमा सोमबार राति भएको चक्कु प्रहार घटनामा एक जनाको मृत्यु भएको छ। -घटनामा ३८ वर्षीय सन्तबहादुर कुमालको मृत्यु भएको छ भने भाई सुमन कुमाल देवदह मेडिकल कलेजमा उपचाररत छन्। -घटनामा संलग्न भएको आरोपमा प्रहरीले १९ वर्षीय सुदिप जैसीलाई नियन्त्रणमा लिएको छ। |
लुम्बिनी पाना, देवदह । देवदह नगरपालिका-४ प्रगतिटोलमा गएराति भएको चक्कु प्रहार घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा ३८ वर्षीय सन्तबहादुर कुमाल रहेका छन्। घाइते १९ वर्षीय सुमन कुमाललाई उपचारका लागि भलुही मेडिकल कलेजमा भर्ना गरिएको छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी खैरेनी देवदहबाट पुगेको टोलीले घाइतेद्वयलाई उपचारको लागी देवदह मेडिकल कलेज भलुही लैजादै गर्दा दाजु सन्त बहादुरको बाटोमै मृत्यु भएको थियो।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले १९ वर्षीय सुदिप जैसीलाई नियन्त्रणमा लिएको छ। उनी करिब ९ महिना भारत बसेर हालै घर फर्किएका हुन्। प्रहरीका अनुसार मापसे सेवन गरेका उनले राति करिब ११:३० बजेतिर झै-झगडा गरी कुमाललाई चक्कु प्रहार गरेका थिए।उनका दाजु सन्तबहादुरले बचाउन खोज्दा छातीमा चक्कु लागी उनको मृत्यु भएको हो।
स्थानीयको भनाइ अनुसार सुदिप र सुमनबीच यसअघि पनि पटक–पटक विवाद हुँदै आएको थियो। भारत जानुअघि पनि सुमन र सुदिप बिच झगडा भएको स्थानीय बिष्णु जैसीले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij