लुम्बिनी पाना, देवदह । ध्यान संस्कृतिसहितको शिक्षाको पहिलो आधार तयार गर्न सकिने मान्यताका साथ लुम्बिनीस्थित थाई मोनेस्ट्रीका भिक्षुहरू र सगरमाथा सेकन्डरी बोर्डिङ स्कूलकाबीच आज एक विशेष छलफल सम्पन्न भएको छ।
छलफलमा विद्यालय शिक्षासँगै जीवन मूल्य, संस्कार र नैतिक शिक्षालाई जोड्नुपर्ने विषयमा छलफल भएको थियो। सहभागी भिक्षुहरूले ध्यान केवल मानसिक शान्ति र आत्मअनुशासनको अभ्यास मात्र नभई, विद्यार्थीलाई संस्कारी र जिम्मेवार नागरिक बनाउन सक्ने महत्वपूर्ण उपाय भएको धारणा राखे।
सगरमाथा सेकन्डरी बोर्डिङ स्कूलका प्राचार्य कृष्ण प्रसाद पौडेलले अहिलेको पुस्ता प्राविधिक तथा पुस्तकात्मक ज्ञानमा मात्र सीमित नभई व्यवहारमा पनि संस्कारित र अनुशासित हुनुपर्ने आवश्यकता औँल्याउँदै, ध्यान संस्कृतिलाई विद्यालय स्तरमै लागू गर्न सकिने विश्वास व्यक्त गरे।
सो छलफलबाट आगामी दिनमा थाई मोनेस्ट्रीका भिक्षुहरू विद्यालयमै आएर विद्यार्थीहरूलाई ध्यान सम्बन्धी ज्ञान दिने, ध्यान अभ्यासमा सहभागी गराउने र त्यसैमार्फत संस्कारित जीवनशैली अपनाउन प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। यस कार्यले विद्यार्थीहरूमा सकारात्मक सोच, आपसी सद्भाव र अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij