लुम्बिनी पाना, देवदह । निजी लगानीमा सञ्चालित विद्यालयहरुले देशको शैक्षिक गुणस्तर उत्कृष्ट बनाएको निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताउनु भएको छ ।
निजी विद्यालयले देशलाई आवश्यक पर्ने हरेक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेको तर राज्यले सबैलाई अवसर प्रदान गर्न नसक्दा विदेशिनु परेको भन्दै उहाँले शिक्षा क्षेत्रमा मात्र नभएर खेलकुद, नृत्य, गीत, संगीत र सम्पूर्ण अतिरिक्त क्रियाकलापमा समेत देशव्यापी रुपमा निजी विद्यालयहरुको विशिष्ट योगदान रहेको बताउनु भयो ।
प्याब्सन रुपन्देहीको आयोजना र देवदह नगर प्याब्सनको आतिथ्यतामा सम्पन्न तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितालाई देवदहमा सम्बोधन गर्दै उहाँले उक्त बिचार व्यक्त गर्नु भएको हो । केन्द्रिय प्याब्सनले हरेक बर्ष आयोजना गर्ने राष्ट्रिय लोक नृत्य प्रतियोगिताले देशको हरेक भूभागमा बसोबास गर्ने हरेक जातजातिको मौलिक तथा साँस्कृतिक लोककलाको संरक्षण संबद्र्धन र विकास गर्न अतुलनीय योगदान पुगेको भन्दै यस्ता कार्यक्रमहरु निरन्तर गर्दै जाने केन्द्रिय प्याब्सनका उपाध्यक्ष टिकाराम न्यौपानेले बताउनुभयो ।
सो कार्यक्रममा महासचिव आर बी कटुवाल, पूर्व केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेय, उपाध्यक्ष धनराज चापागाई, केन्द्रिय सचिवालय सदस्य, खेमेन्द्र राना, केन्द्रिय सदस्य यज्ञमूर्ति पाण्डेय, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपाने,अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले आ आफ्ना भनाइ राख्नुभएको थियो । प्रतियोगितामा कुँवरवर्ती ईङलिश बोर्डिङ स्कूल तिलोत्तमा प्रथम, सिद्धार्थ मोडर्न ई.बो.स्कूल शुद्धोधन द्वितीय, मुनलाईट ई.बो.स्कूल सिद्धार्थनगर तृतीय र गार्गी ई.बो.स्कूल बुटवल सान्त्वना भएका छन् ।
रुपन्देहीका सम्पूर्ण पालिकाहरुबाट विजेता भएका विद्यालयहरु जिल्लामा प्रतिस्पर्धा भएको र अब प्रदेश र केन्द्रमा प्रतिस्पर्धा हुने संयोजक बोधराज गौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा निर्णायकको भूमिका राजबहादुर गुरुङ र सुरेन्द्र देसारले गर्नुभएको थियो । प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कुलराज शर्माको स्वागत , प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङको धन्यवाद र सचिव बोधराज गौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij