लुम्बिनी पाना, देवदह। लुम्बिनी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत सञ्चालन भइरहेको भगवानपुर–धकधई–खैरनी सडक आयोजनाअन्तर्गत सडक विस्तार तथा निर्माण कार्यका विषयमा देवदह नगरपालिका–३ मा छलफल सम्पन्न भएको छ। वडा नं. ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो।
छलफलमा देवदह–३ अन्तर्गत चेनज १८+४०० देखि १८+७०० सम्मको बजार क्षेत्रमा नालीको अत्यन्त आवश्यकता रहेको विषय उठान गरिएको थियो। उक्त क्षेत्रमा नालीको व्यवस्था नगरिएमा भविष्यमा स्थानीय स्तरमा विभिन्न समस्या उत्पन्न हुने देखिएकाले आयोजनाको प्रारम्भिक डिजाइनमा नाली समावेश नभएकोप्रति ध्यानाकर्षण गराइएको थियो।
वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले प्रारम्भिक डिजाइन परिमार्जन गरी नाली निर्माणलाई अनिवार्य रूपमा समावेश गर्न आयोजना पक्षसँग औपचारिक अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो। साथै, निर्माण कार्यका क्रममा कुनै किसिमको अवरोध देखा परेमा त्यसको समाधानका लागि स्थानीय तहबाट आयोजना पक्षलाई आवश्यक सहयोग गर्ने निर्णय समेत गरिएको उहाँले बताउनुभयो।
स्थानीयवासीहरूले सडक विस्तार तथा निर्माण कार्य आयोजनाले तोकेको डिजाइन, ड्रइङ तथा मापदण्डअनुसार गुणस्तरीय, व्यवस्थित र समयमै सम्पन्न गर्न माग गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij