लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान, जीवनदान, महादान” भन्ने मूल नाराका साथ तथा “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने उद्देश्य लिएर सत्य साई सेवा संगठन नेपाल अन्तर्गत श्री सत्य साई प्रदेश समिति–५ को आयोजनामा बिहीबार कार्यक्रम सम्पन्न भएको हो। रक्त संचार सेवा केन्द्र बुटवल को प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६२ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक मोहन जिसीले जानकारी दिनुभयो।
साईं बाबाले “एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ” भन्ने सन्देश दिएजस्तै “सबैलाई प्रेम गर, सबैको सेवा गर (Love All, Serve All)” भन्ने भावनालाई आत्मसात गर्दै विगत वर्षहरूमा झैँ यस वर्ष पनि वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो। श्री सत्य साई केन्द्र भलुही को २८औँ स्थापना दिवस तथा प्रजातन्त्र दिवसको पावन अवसरमा कार्यक्रम गरिएको केन्द्रकी अध्यक्ष नेत्रमाया गुरुङले जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय युवायुवती, समाजसेवी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। रक्तदानले बिरामीहरूको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता मानवसेवी कार्यक्रमलाई निरन्तरता दिइने पनि आयोजकले बताएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij