लुम्बिनी पाना, देवदह। नेपाल मगर संघ देवदह नगर समितिले ४४ औँ मगर स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ। नगर समितिले बुधबार देवदहमा पत्रकार सम्मेलन गरी फाल्गुन १५ गते ४४ औँ मगर स्थापना दिवस भब्य रुपमा मनाउन लागेको जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा बोल्दै मगर संघ देवदह नगर कमिटीका अध्यक्ष किशन बहादुर थापाले मगरहरुलाई एकताबद्ध बनाई जातीय हकहित र अधिकार प्राप्तिका लागि हरेक वर्ष फाल्गुन १५ को दिन मगर एकता दिवस मनाउँदै आएको जानकारी दिदै देश परिवर्तनका लागि ठूलो योगदान र त्याग गरेको मगर समुदायको गुनासो र मागलाई सरकारले बेवास्ता गरेकोमा खेद प्रकट गर्नुभयो।
अध्यक्ष थापाले मगर समुदायको बाहुल्य रहेको लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, फागुन १५ गते राष्ट्रिय रुपमा सार्वजनिक विदाको व्यवस्था गर्नुपर्ने लगायतका विषय मागका रुपमा रहेको बताउनुभयो ।
अध्यक्ष थापाले मगर संघले एकता दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान, कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गरि उत्तीर्ण विद्यार्थीहरु तथा लोकसेवा आयोगमा नाम निकाल्न सफल मगर समुदायका व्यक्तिहरुलाई सम्मान, विपन्न जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, सास्कृतिक कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
देवदहको पानबारीमा आयोजना हुने कार्यक्रम आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीसको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक सिद्दार्थ आले मगर, लोक दोहोरी गायिका मधु थापा मगर भ्वाइस अफ नेपाल सिजन ७ का उत्कृष्ट ८ मा पर्न सफल अन्जना सारु मगरको प्रस्तुति, झ्याउरे, सालैजो, घाटु, सोरठी र कौडा नृत्य सङ्गै स्थानीय कलाकारको प्रस्तुति रहने छ।
मगर संघ देवदह नगर कमिटीका अध्यक्ष किशन बहादुर थापाको अध्यक्षता, संघका नगर सचिव चोलिमाया रानाको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सदस्य शोभा कुमारी थापा, मगर संघ देवदहका उपाध्यक्ष मिलन मास्की राना, मगर संघ वडा नम्बर ५ का अध्यक्ष नारायण थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij