लुम्बिनी पाना, देवदह। “वन डढेलो रोकथाम हाम्रो अभियान” भन्ने उद्देश्यसहित देवदहमा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना सप्ताह आजदेखि सुरु भएको छ। गाउँ वन समन्वय सञ्जालको आयोजनामा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने वन डढेलो सप्ताह–२०८२ अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।
रुपन्देहीलाई वन डढेलोमुक्त क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला वन कार्यालय रुपन्देहीका वरिष्ठ वन अधिकृत उमेश साह सहभागी भएका थिए। उनले नेपालमा हुने वन डढेलोमध्ये करिब ९० प्रतिशत आगलागी मानवीय कारणले हुने गरेको उल्लेख गर्दै समयमै पूर्वतयारीमा बस्नुपर्ने, फायर फाइटर टुल्सको व्यवस्था, आवश्यक जनशक्ति परिचालन तथा छिमेकी सामुदायिक वनसँग समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, विशिष्ट अतिथि वासुदेव रिमालले वन क्षेत्रमा आगलागी नियन्त्रणका लागि फायर लाइन व्यवस्थापन तथा निर्माण अत्यावश्यक रहेको उल्लेख गर्दै सरोकारवाला निकायहरूलाई अनिवार्य रूपमा सहभागी गराई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए।
कार्यक्रममा कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम सापकोटा, स्मृति सामुदायिक वनकी सचिव सुशिला भट्टराई, तथा देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख जय किशन अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
गाउँ वन समन्वय सञ्जालका अध्यक्ष खेम नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य कावा अध्यक्ष टेक बहादुर विश्वकर्माले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव टेक बहादुर रानाले गरेका थिए।
सप्ताहभर वन डढेलो नियन्त्रण र रोकथामका विषयमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij