पाल्पा। पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
यसअघि अर्घाखाँची शीतगङ्गा–४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देही देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको घटनास्थलमै मृत्यु भएको थियो।
शनिबार साँझ झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर माथागढी गाउँपालिका–७ रहबासमा सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए।
घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएकोमा तीन जनालाई चिकित्सकले त्यहीँ मृत घोषणा गरेका थिए। गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज, रुपन्देही पठाइएकोमा उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij