केशव पराजुली, देवदह । पल्लवी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २ दिने उद्यमशीलता सम्बन्धी तालिम सम्पन्न भएको छ।

६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीका शेयर सदस्यहरुलाई उद्यमशीलतासँग जोड्दै आयआर्जनमा प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाले जनाएको छ। देवदह–१० स्थित चरङ्गे सेवा केन्द्रमा आयोजित फूलको बुके बनाउने तालिममा १८ जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो भने सेवा केन्द्र नं. ६ मा आयोजित बाटेको धुप बनाउने तालिममा २५ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि संस्थाकी अध्यक्ष मिना श्रेष्ठले सहकारीले विगतदेखि नै शेयर सदस्यहरुको आर्थिक सशक्तीकरण, बचतको विकास तथा विभिन्न सीपमूलक तालिममार्फत आयआर्जनका अवसर सिर्जना गर्दै आएको बताउनुभयो। उहाँले सहकारीले स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
चरङ्गे सेवा केन्द्रका संयोजक पोम बहादुर जिसीको अध्यक्षतामा फूलको बुकि बनाउने तालिम तथा सेवा केन्द्र नं. ६ का संयोजक विष्णु ज्ञवालीको अध्यक्षतामा बाटेको धुप बनाउने तालिमको समापन गरिएको थियो।
समापन कार्यक्रममा संस्थाकी उपाध्यक्ष गोमा डुम्रे, कोषाध्यक्ष इश्वरी न्यौपाने, खेम नारायण ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।
बाटेको धुप बनाउने तालिमको समापन संस्थाका व्यवस्थापक केशव आचार्य तथा फूलको बुके बनाउने तालिमको समापन वरिष्ठ सहायक सुवास पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij