लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहस्थित लोकेश्वर शिव पञ्चायन मन्दिर परिसरमा शिव महादेव तथा गङ्गा मैयाको विशाल मूर्ति स्थापना गरिएको छ। धार्मिक तथा पर्यटकीय आकर्षण बढाउने उद्देश्यसहित मन्दिर परिसरमा २६ फिट अग्लो शिव महादेवको मूर्ति राखिएको हो।
भारतको राजस्थानस्थित जयपुरमा करिब पाँच वर्ष लगाएर एउटै ढुङ्गाबाट निर्माण गरिएको उक्त मूर्ति मन्दिर प्राङ्गणमा स्थापना गरिएको लोकेश्वर मन्दिर संरक्षण समितिले जनाएको छ। समितिका अध्यक्ष रुद्रमान ढकालका अनुसार मन्दिरले सञ्चालन गरेको महायज्ञ तथा विभिन्न दाताबाट प्राप्त सहयोग रकममार्फत संकलित एक करोड रुपैयाँभन्दा बढी लागतमा शिव महादेवको मूर्ति स्थापना गरिएको हो।
धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको देवदहमा नेपालमै पहिलोपटक शिव महादेवको मूर्तिसँगै कैलाश पर्वतको आकृति निर्माण गर्ने योजना रहेको अध्यक्ष ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार आगामी श्रावण महिनामा विशेष पूजाआजा तथा धार्मिक कार्यक्रमका साथ मूर्तिको औपचारिक उद्घाटन गरिनेछ। उद्घाटनपछि मन्दिर परिसर धर्मावलम्बी तथा दर्शनार्थीहरूका लागि खुला गरिने तयारी गरिएको छ।
मूर्ति स्थापना भएसँगै लोकेश्वर शिव पञ्चायन मन्दिर धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनको महत्वपूर्ण केन्द्रका रूपमा थप परिचित हुने अपेक्षा गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij