लुम्बिनी पाना, देवदह। रूपन्देहीको देवदह नगरपालिका वडा नं. ९ भलुहीस्थित श्री जनप्रिय सामुदायिक वन उपभोक्ता समूह ले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत कार्ययोजना अनुसार वन व्यवस्थापन तथा कटान कार्य सम्पन्न गरेको जनाएको छ।
समूहले सञ्चालन गरेको वन व्यवस्थापन तथा कटान कार्यको शुक्रबार स्थलगत अनुगमन पश्चात उक्त जानकारी गराइएको हो। डिभिजन वन कार्यालयको स्वीकृतिअनुसार गरिएको पुनर्उत्पादन तथा सुधार कटान कार्यक्रमअन्तर्गत कुल २१३ वटा रूख कटान गरिएको थियो। उक्त कार्यबाट १० हजार ४१९ दशमलव १८ क्युविक फिट काठ र ३३ चट्टा दाउरा उत्पादन भएको छ।
उत्पादन विवरणअनुसार पुनर्उत्पादन कटानबाट १९० वटा रूखबाट ८ हजार ७७१ दशमलव १६ क्युफिट काठ तथा ३० चट्टा दाउरा प्राप्त भएको छ। त्यस्तै वन क्षेत्रभित्र रहेका पुराना, ढलापडा र सुख्खड २३ वटा रूखबाट १ हजार ६४८ दशमलव २ क्युफिट काठ र ३ चट्टा दाउरा संकलन गरिएको वनका कार्यवाहक अध्यक्ष टेक बहादुर विशवकर्माले जानकारी दिए।
संयक्त अनुगमनमा देवदह नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोहन बहादुर जिसी, बरिष्ठ वन अधिकृत पुष्पराज श्रेष्ठ, जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सुरक्षा निकाय एवं पत्रकारहरुको उपस्थिति रहेको थियो।
वन व्यवस्थापन, कटान, ढुवानी तथा अन्य प्रशासनिक कार्यमा कटान, ढुवानी तथा व्यवस्थापन कार्यमा कुल रु. २०,८७,०५२.३० खर्च भएको विवरण सार्वजनिक गरिएको छ। खर्चमध्ये कामदार ज्यालामा रु. ९,१५,२००, ढुवानी तथा लोड–अनलोडमा रु. ७,४९,२२५, प्राविधिक सेवामा रु. ६८,०००, भत्तामा रु. २,५९,४६९, सामग्री खरिदमा रु. ४२,३५३.३० तथा विविध शीर्षकमा रु. ५२,८०५ खर्च भएको उल्लेख गरिएको छ।
वन उपभोक्ता समूहले वैज्ञानिक वन व्यवस्थापन र दिगो वन संवर्द्धनमार्फत जिर्ण रूख हटाउने, नयाँ बिरुवा हुर्काउन सहयोग पुग्ने तथा वन पैदावार बिक्रीबाट स्थानीय समुदायको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। पारदर्शिता प्रवर्द्धनका लागि वन क्षेत्रमै विस्तृत विवरणसहितको होर्डिङ बोर्डसमेत राखिएको जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij