मंगलवार, आश्विन १३ गते २०८३
लुम्बिनी पाना, देवदह । लायन्स क्लब अफ देवदह पाकरी वृक्षको आठौँ पदहस्तान्तरण तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम शनिबार देवदह -७, पिपलडाँडा स्थित सनलाइट होटलमा सम्पन्न भएको हो ।
कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो सत्रको सञ्चालन लायन निशा गुरुङ र दोस्रो सत्रको सञ्चालन पूजा ढुङ्गानाले गर्नुभएको थियो। पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष लायन उषा सुवेदीले गर्नुभएको थियो भने पदहस्तान्तरणसहित दोस्रो सत्रको अध्यक्षता नवनिर्वाचित अध्यक्ष लायन चमेली श्रीस बुढाथोकी (बिनिता) ले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट 325P नेपालका डिस्ट्रिक्ट एक्सन टिम कोअर्डिनेटर एमजेएफ लायन विष्णु प्रसाद पौडेल रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा क्लबका चार्टर अध्यक्ष तथा सिनियर डिष्ट्रिक्ट एड्भाइजर लायन मीना गुरुङ सहभागी हुनुहुन्थ्यो। त्यसैगरी रिजन चेयरपर्सन लायन कमल पौडेल, जोन चेयरपर्सन लायन माधव आचार्य, क्लबका पूर्व अध्यक्षहरू, बोर्ड सदस्यहरू तथा लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा निवर्तमान अध्यक्ष लायन उषा सुवेदीले लायन्स वर्ष २०२५–२६ मा क्लबले सञ्चालन गरेका गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा उक्त अवधिमा क्लबले विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुका साथै विभिन्न क्षेत्रमा सम्मान प्राप्त गरेको जानकारी गराइएको थियो। प्रमुख अतिथि एमजेएफ लायन विष्णु प्रसाद पौडेलले क्लबले समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो।
कार्यक्रममा लायन मीना गुरुङ, लायन कमल पौडेल तथा लायन शोभा थापाले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। जोन चेयरपर्सन लायन माधव आचार्यले लायन्सका आगामी नीति, कार्यक्रम तथा जिल्ला स्तरीय गतिविधिबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष लायन चमेली श्रीस बुढाथोकी (बिनिता) ले व्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन लायन माया सापकोटाले गर्नुभएको थियो।
सो अवसरमा निवर्तमान कार्यसमितिबाट नवनिर्वाचित कार्यसमितिलाई विधिवत् रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। सहभागीहरूले नयाँ नेतृत्वको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै क्लबले आगामी दिनमा पनि समाजसेवा तथा मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij