लुम्बिनी पाना, देवदह । देवदह नगरपालिका भलुही स्थित श्री जनप्रिय सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालन गरिएको महिला लक्षित मादल तथा खैजडी बजाउने तालिम सम्पन्न भएको छ ।
महिलाहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने, लोकसंस्कृतिको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको समापन कार्यक्रम शनिबार सम्पन्न भएको हो ।२ तालिममा सहभागी महिलाहरूले मादल तथा खैजडी बजाउने सीप हासिल गर्दै सांस्कृतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने समापन कार्यक्रमका वक्ताहरुले विश्वास व्यक्त गरेका छन् ।
समुहका कार्यबाहक अध्यक्ष टेक बहादुर विकको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली कला, संस्कृति र परम्परागत बाजागाजाको संरक्षणमा महिलाको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सीपमूलक तथा सांस्कृतिक तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम श्री जनप्रिय सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको थियो।
तालिमले महिलाहरूको क्षमता विकाससँगै स्थानीय संस्कृति संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
समुहकी सचिव मालिका थापाको स्वागत, कार्यक्रम संयोजक सरस्वती रिजालको धन्यवाद ज्ञापन तथा सहसचिव मालती अधिकारीको संचालनमा भएको कार्यक्रममा देवदह १० का वडा सदस्य अमर लामिछाने, देवदह ९ की वडा सदस्य कृष्णमाया राना, समुहका सल्लाहाकार संयोजक ऋषिराम सापकोटा, प्रशिक्षक भगेन्द्र भगत, प्रशिक्षार्थीहरु अम्बिका गैरे पराजुली, पुनम जिसी लगायतले मन्तब्य राख्नु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij