मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नागरिक सुनुवाइमा उठे लागूऔषध, सडक दुर्घटना र चोरीका मुद्दा, न्यूनीकरणका लागि प्रहरीलाई सुझाव

नागरिक सुनुवाइमा उठे लागूऔषध, सडक दुर्घटना र चोरीका मुद्दा, न्यूनीकरणका लागि प्रहरीलाई सुझाव

images
  • 384
    SHARES

  • images
    images
    images
    नागरिक सुनुवाइमा उठे लागूऔषध, सडक दुर्घटना र चोरीका मुद्दा, न्यूनीकरणका लागि प्रहरीलाई सुझाव
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। खैरेनी प्रहरी चौकीको आयोजनामा मंगलबार देवदह नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा स्थानीयवासीहरूले लागूऔषध दुर्व्यसन, सडक दुर्घटना तथा चोरीका घटना क्षेत्रका प्रमुख समस्याका रूपमा रहेको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले प्रभावकारी पहल गर्नुपर्ने सुझाव दिएका थिए। सहभागीहरूले ई–रिक्साको व्यवस्थित सञ्चालन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका विषयमा समेत ध्यान दिन आग्रह गरेका थिए।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले शान्ति सुरक्षा, कानूनको प्रभावकारी कार्यान्वयन तथा नागरिकको सुरक्षालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए। उनले समुदाय र प्रहरीबीचको समन्वय तथा सहकार्य बलियो भए मात्रै अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन न्यूनीकरण र सडक दुर्घटना घटाउन सकिने उल्लेख गरे।

    नगरप्रमुख खरेलले स्थानीय तह र प्रहरी प्रशासनबीच आवश्यक समन्वय गर्दै नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न नगरपालिकाले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले शंकास्पद गतिविधि तथा आपराधिक घटनाबारे समयमै प्रहरीलाई जानकारी गराई शान्त, सुरक्षित र सभ्य समाज निर्माणमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले विशेषगरी दुईपाङ्ग्रे सवारी चालकमा ट्राफिक नियमसम्बन्धी ज्ञानको कमी र तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण सडक दुर्घटनाको जोखिम बढिरहेको बताए। उनले ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल गरिने जानकारी दिए।

    देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले पछिल्लो समय नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी–निकासीसम्बन्धी गुनासो उल्लेखनीय रूपमा घटेको बताए। उनले लागूऔषध दुर्व्यसन समाजकै गम्भीर चुनौती भएकाले यसको नियन्त्रणका लागि परिवार, समुदाय, स्थानीय तह र सुरक्षा निकाय सबैको संयुक्त प्रयास आवश्यक रहेको धारणा राखे।

    खैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक भीमसेन विष्टले चोरीका घटना नियन्त्रणका लागि नियमित गस्ती, निगरानी तथा शंकास्पद गतिविधिमाथि विशेष निगरानी बढाइएको जानकारी दिए। उनले समुदायबाट प्राप्त सूचना अपराध नियन्त्रणको महत्वपूर्ण आधार भएकाले प्रहरीसँग निरन्तर सहकार्य गर्न स्थानीयलाई आग्रह गरे।

    कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल, विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, प्रहरी कर्मचारी, स्थानीयवासी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij