लुम्बिनी पाना, देवदह। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र हराभरा वातावरण निर्माण गर्ने उद्देश्यले रोटरी क्लब अफ देवदहले शनिबार देवदह आदर्श बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत करिब ३० वटा फलफूलका बिरुवा रोपिएका छन्। रोपिएका बिरुवामा आँप, लिची, सहजन (मोरिङ्गा), कटहर लगायतका विभिन्न प्रजातिका फलफूलका बिरुवा रहेका छन्। क्याम्पस परिसरलाई हरियालीयुक्त बनाउँदै विद्यार्थीलाई वातावरण संरक्षणप्रति सचेत गराउने उद्देश्यका साथ वृक्षारोपण गरिएको रोटरी क्लबले जनाएको छ।
रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पास्ट प्रेसिडेन्ट डा. सुन्दर पाण्डेय, पास्ट प्रेसिडेन्ट कुलप्रसाद पौडेल, इमिडियट पास्ट प्रेसिडेन्ट डोलराज न्यौपाने, पास्ट प्रेसिडेन्ट विष्णु प्रसाद पाठक तथा पास्ट प्रेसिडेन्ट दम्मर गुरुङको सहभागिता रहेको थियो। उहाँहरूले वृक्षारोपणलाई वातावरण संरक्षणसँगै भविष्यका पुस्ताका लागि दीर्घकालीन लगानी भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नवीनकुमार श्रेष्ठ तथा ईसीए संयोजक कृष्ण अर्यालको समेत उपस्थिति रहेको थियो। रोटरी क्लब अफ देवदहका सचिव रामचन्द्र उपाध्यायले सञ्चालन गरेको कार्यक्रममा क्लबका पदाधिकारी, बोर्ड सदस्य तथा क्याम्पस परिवारको सक्रिय सहभागिता रहेको थियो।
रोटरी क्लब अफ देवदहले वातावरण संरक्षण, हरित अभियान तथा दिगो विकासका लक्ष्यलाई टेवा पुर्याउने उद्देश्यले आगामी दिनहरूमा पनि यस्ता वृक्षारोपण तथा सामुदायिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij