लुम्बिनी पाना, काठमाडौं। महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
मिलापद्वारा आयोजित कार्यक्रममा साहित्य, संगीत र संस्कृतिको त्रिवेणी संगम प्रस्तुत गर्दै महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरिएको थियो।
दाहालद्वारा रचित ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यमा आधारित गीतहरू समेटिएको ‘जागृति’ नेपाली काव्य परम्पराको भावभूमिमा संगीतको नवीन प्रयोगका रूपमा प्रस्तुत गरिएको छ। चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न कार्यक्रमको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षाविद् डा. यज्ञेश्वर निरौला उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संगीतमार्फत आम श्रोतासम्म, विशेषगरी युवा पुस्तामाझ पुर्याउनु समयको आवश्यकता भएको बताउनुभयो। उहाँले ‘जागृति’ केवल एउटा गीति एल्बम नभई नेपाली साहित्यलाई श्रव्य–दृश्य माध्यममार्फत नयाँ पुस्तासम्म पुर्याउने अभियानको महत्त्वपूर्ण कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्नुभयो।
समारोहमा एल्बममा समावेश पाँच गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौँ अब लौ आमाका गीत’ औपचारिक रूपमा सार्वजनिक गरियो। गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विविध आयाम अभिव्यक्त भएका छन्।
एल्बमका ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ गीतमा कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर रहेको छ। ‘बित्छ बिहान आमाको’ मा वरिष्ठ गायिका ज्ञानु राणा तथा ‘गाउँछौँ अब लौ आमाका गीत’ मा गायक रमेश पाठकको स्वर रहेको छ। एल्बमका सबै गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ।
कार्यक्रममा उपस्थित साहित्यकार, कलाकार तथा अतिथिहरूले गीतहरूको श्रव्य–दृश्य प्रस्तुति अवलोकन गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।
शुभकामना मन्तव्यका क्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलगायत वक्ताहरूले महाकाव्यकार खेमनाथ दाहालका काव्य सिर्जनाले राष्ट्र, समाज, मानवता र सांस्कृतिक चेतनालाई सशक्त रूपमा अभिव्यक्त गरेको उल्लेख गर्नुभयो। उहाँहरूले साहित्यको गहिरो भावलाई संगीतमार्फत जनमानससम्म पुर्याउने प्रयासले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
एल्बमका संगीतकार सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई गीतमा रूपान्तरण गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो। छन्द, लय र मूल भावलाई अक्षुण्ण राख्दै संगीत सिर्जना गर्न विशेष मिहिनेत गर्नुपरेको उल्लेख गर्दै उहाँले सकेसम्म मूल छन्द भंग नगरी काव्यको आत्मा जोगाउने प्रयास गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार संगीत सिर्जना केवल धुन निर्माण गर्ने प्रक्रिया नभई काव्यको भाव र दर्शनलाई स्वरमार्फत पुनर्जीवित गर्ने कलात्मक जिम्मेवारी पनि हो।
महाकाव्यकार खेमनाथ दाहालले आफ्ना काव्यका श्लोक गीतका रूपमा जनमानससम्म पुग्न थालेकोमा खुसी व्यक्त गर्नुभयो। साहित्यलाई पुस्तकको सीमाभन्दा बाहिर निकालेर संगीतमार्फत आम श्रोतामाझ पुर्याउने अभियानमा संलग्न कलाकार, संगीतकर्मी तथा आयोजकप्रति उहाँले आभार व्यक्त गर्नुभयो। साहित्यलाई समयअनुकूल विभिन्न माध्यमबाट प्रस्तुत गर्न सकेमात्र त्यसको जीवन्तता कायम रहने उहाँको भनाइ थियो।
प्रमुख अतिथि डा. यज्ञेश्वर निरौलाले साहित्य र संगीत एकअर्काका परिपूरक विधा भएको उल्लेख गर्दै महाकाव्यका गहिरा भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पुर्याउने प्रयासको प्रशंसा गर्नुभयो। उहाँले यस्ता सिर्जनात्मक अभियानले नेपाली भाषा, साहित्य, मौलिक संस्कृति तथा राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कविता स्वरमा रूपान्तरण हुँदा त्यसले मनोरञ्जनसँगै चेतना, संस्कार र सांस्कृतिक स्मृतिलाई पनि पुस्तान्तरण गर्ने उहाँको धारणा थियो।
सोही अवसरमा साहित्यकार डा. विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो। सम्मान ग्रहणपछि उहाँले सिर्जनाको सम्मान समग्र साहित्यिक समुदायको सम्मान भएको धारणा व्यक्त गर्दै आफ्नो एक कविता पनि वाचन गर्नुभयो।
कार्यक्रमको समापन गर्दै सभापति कृष्ण भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलतालाई नयाँ आयाम प्रदान गरिरहेको बताउनुभयो। उहाँले ‘जागृति’ले नेपाली काव्य, संगीत र संस्कृतिप्रेमीमाझ दीर्घकालसम्म सकारात्मक प्रभाव छाड्ने विश्वास व्यक्त गर्दै यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन साहित्यकार, कलाकार, सांस्कृतिक संस्था तथा सञ्चारमाध्यमबीच अझ सशक्त सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
समारोहमा उषा दाहाल, वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, संगीत सम्पादक प्रकाश मिश्र, भिडियो छायाँकार तथा सम्पादक राजन खरेल, साहित्यकार शैलेन्द्र चापागाईं, कलाकार शीला गजुरेल, गायक गणेश पराजुली, पत्रकार स्वस्तिका पन्थी, राजेन्द्र दाहाल, दीपा दाहाललगायत साहित्य, संगीत र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij