सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

होराइजन गौतम बुद्ध माविमा विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक प्रशिक्षण

होराइजन गौतम बुद्ध माविमा विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक प्रशिक्षण

images
  • 268
    SHARES

  • images
    images
    images
    होराइजन गौतम बुद्ध माविमा विपद् व्यवस्थापनसम्बन्धी व्यवहारिक प्रशिक्षण
    images
    images
    images

    लुम्बिनी पाना, रुपन्देही । तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयमा विपद् व्यवस्थापनसम्बन्धी एकदिने व्यवहारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। होराइजन गौतम बुद्ध स्काउट ट्रुपको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई विपद्का समयमा आफू सुरक्षित रहने, अरूलाई सुरक्षित राख्ने, उद्धार गर्ने तथा प्राथमिक उपचार प्रदान गर्नेलगायतका विषयमा व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।

    प्रशिक्षणका क्रममा प्राथमिक उपचार (First Aid), कार्डियोपल्मोनरी रिससिटेसन (CPR) तथा आगलागी नियन्त्रण (Fire Control) सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको थियो। विशेषगरी भान्सामा हुने आगलागी नियन्त्रण गर्ने सुरक्षित विधि, जोखिमपूर्ण आगो नियन्त्रण गर्ने तरिका, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानी तथा दुर्घटनाबाट आफू र अरूलाई सुरक्षित राख्ने उपायबारे सहभागीलाई प्रशिक्षण दिइएको थियो।

    images
    images
    images

    विपद् व्यवस्थापन प्रशिक्षक अमृत बी.के. र स्काउट मास्टर सुरज भट्टराईको सहजीकरणमा सञ्चालन भएको प्रशिक्षणमा विद्यार्थीहरूले टोली भावना, अनुशासन, साहस र सेवाभावका साथ विपद्का बेला तत्काल निर्णय गर्ने क्षमता, सुरक्षित उद्धारका विधि तथा जोखिम न्यूनीकरणसम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि तथा स्काउट मास्टर सुरज भट्टराईले यस्ता तालिमले विद्यार्थीमा विपद्प्रतिको सचेतना, आत्मविश्वास, नेतृत्व क्षमता, सहयोगी भावना र सामाजिक उत्तरदायित्वको विकास गर्ने बताउनुभयो। उहाँले आपत्कालीन अवस्थामा सही निर्णय लिन सक्ने व्यवहारिक दक्षता विकास गर्न यस्ता प्रशिक्षण महत्वपूर्ण रहेको उल्लेख गर्दै विपद्का बेला अग्रसर भई समाजको सेवामा खटिन सक्ने जिम्मेवार, सक्षम र आत्मनिर्भर नागरिक निर्माणमा तालिमले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    विद्यालयका प्राचार्य तथा होराइजन गौतम बुद्ध मावि स्काउट दलका अध्यक्ष गोपाल प्रसाद आचार्यले विपद्मा परेकालाई सहयोग गर्नु स्काउटको प्रमुख उद्देश्य रहेको बताउनुभयो। अरूको दुःखलाई आत्मसात् गर्दै पीडितलाई सहयोग गर्नु समाजप्रतिको उत्तरदायित्व र देशप्रतिको प्रेमको अभिव्यक्ति भएको उहाँको भनाइ थियो।

    उहाँले स्काउटले विद्यार्थीमा आत्मविश्वास र मनोबल बढाउँदै सफल जीवन जिउन तथा समाज र देशका लागि योगदान गर्न प्रेरित गर्ने बताउनुभयो। भूकम्पका समयमा आफूले देखेको अनुभव सुनाउँदै उहाँले विपद्का बेला स्काउटहरू उद्धार तथा राहतका कार्यमा खटिएको र भत्किएका घरका सामान पन्छाउनेलगायतका काममा सहयोग गरेको स्मरण गर्नुभयो।

    विद्यालयले आगामी दिनमा पनि विद्यार्थीका जीवनोपयोगी सीप, सुरक्षा सचेतना, विपद् जोखिम न्यूनीकरण तथा नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै यस्ता व्यवहारिक तथा सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    कार्यक्रम होराइजन गौतम बुद्ध माध्यमिक विद्यालय स्काउट दलका अध्यक्ष तथा विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यको अध्यक्षता, सहप्राचार्य ज्ञानेश्वर ज्ञवालीको स्वागत तथा स्काउट मास्टर सीता अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij