सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा ‘उद्यम प्रवर्धन’ कार्यक्रम सम्पन्न, २७ उद्यमी सम्मानित

देवदहमा ‘उद्यम प्रवर्धन’ कार्यक्रम सम्पन्न, २७ उद्यमी सम्मानित

images
  • 161
    SHARES

  • images
    images
    images
    देवदहमा ‘उद्यम प्रवर्धन’ कार्यक्रम सम्पन्न, २७ उद्यमी सम्मानित
    images
    images
    images

    देवदह । युवालाई उद्यमशीलता, स्वरोजगार र व्यक्तिगत विकासतर्फ प्रेरित गर्ने उद्देश्यले देवदहमा उद्यम प्रवर्धन कार्यक्रम गरिएको छ । कार्यक्रमका अवसरमा देवदहका २७ जना उद्यमीलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ ।

    देवदह नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा स्थानीयस्तरमै उद्यम सञ्चालन गरी रोजगारी सिर्जना तथा आर्थिक विकासमा योगदान पुर्‍याएको भन्दै २७ जना उद्यमीलाई सम्मान गरिएको हो । सम्मानित उद्यमीहरूले आफ्नो व्यवसायमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

    कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले आफ्नो सफलता यात्राको अनुभव सुनाउँदै जीवनमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, सकारात्मक सोच र सही निर्णय आवश्यक पर्ने बताए । उनले सामान्य अवस्थाबाट सुरु भएको आफ्नो व्यक्तिगत तथा व्यावसायिक यात्राका विभिन्न अनुभव सहभागीमाझ प्रस्तुत गर्दै युवाले अवसरको खोजी मात्र नभई अवसर सिर्जना गर्न सक्ने क्षमता पनि विकास गर्नुपर्नेमा जोड दिए ।

    उनले नेपालमै रहेर पनि सफलता हासिल गर्न सकिने उल्लेख गर्दै युवाले आफ्नो सीप, क्षमता र समयलाई सही रूपमा उपयोग गर्नुपर्ने बताए । चुनौती र असफलतालाई यात्राको अन्त्यका रूपमा नलिई सिकाइ र नयाँ अवसरका रूपमा लिन सके सफलता सम्भव हुने उनको भनाइ थियो ।

    त्यस्तै, लेखक तथा पत्रकार रोहित भण्डारीले आफ्नो पुस्तक ‘नेपालमै सम्भव छ’ मा समेटिएका पात्र र उनीहरूको संघर्ष तथा सफलताको चर्चा गर्दै विदेश नगई नेपालमै विभिन्न क्षेत्रमा अवसर र सम्भावना रहेको बताए । पुस्तकमा समेटिएका सफल उद्यमी तथा कर्मशील व्यक्तिका उदाहरण प्रस्तुत गर्दै उनले युवालाई आफ्नो क्षमता पहिचान गरी नेपालमै केही गर्ने सोचका साथ अगाडि बढ्न आग्रह गरे ।

    भण्डारीले सफलता केवल ठूलो लगानीबाट मात्र सम्भव नहुने भन्दै सानो प्रयासबाट सुरु भएको कामलाई निरन्तरता, मेहनत र नवीन सोचमार्फत ठूलो बनाउन सकिने बताए । उनले नेपालमा सम्भावना छैन भन्ने निराशावादी सोच परिवर्तन गर्नुपर्नेमा समेत जोड दिए ।

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाकी नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगरपालिकाले युवालाई उद्यममा जोड्न तथा उनीहरुको क्षमता विकास गर्न नियमित तालिम र क्षमता विकासका कार्यक्रम गरिरहेको बताइन् ।

    ‘उद्यमी बनौं, सोच बदलौं, उद्यम गरौं– समृद्ध नेपाल निर्माणमा योगदान गरौं’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने मानसिकता विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।

    आयोजक संस्था देवदह -५ का वडा अध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नारायण भण्डारीले गरेका थिए भने वडा सदस्य होमनाथ भट्टराईको स्वागत मन्तव्य रहेको थियो ।

    कार्यक्रममा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिरा बहादुर खत्री, सहयोगी संस्थाहरु समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरे, प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल सहित रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij