अन्तत गृहमन्त्री रामवहादुर थापा बादल प्रधानमन्त्री केपी शर्मा ओलीकै साथमा रहने भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पदका विषयमा कुरा नमिलेपछि उनले ओलीको साथ नछोड्ने भएका हुन् । ओलीले बादललाई गृहमन्त्री पनि रहने र पार्टीमा जिम्मेवारी दिने आश्वासन दिएका कारण उनी ओलीतिरै लागेका छन् ।
विहिवार उनी ओलीले आयोजना गर्ने बैठकमा सहभागी हुने सम्भावना बढेको छ । प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाको वरिष्ठ उपाध्यक्ष बन्न खोजेका बादल पद नपाएपछि ओली तिरै लागेको बताइएको छ ।
बुधबारसम्म पनि गृहमन्त्रीबाट राजीनामा नगरी प्रचण्ड र ओलीसँग भेट गरेका थापाले साँझ भने ओलीतिरै लाग्ने संकेत दिएको थापा निकट एक नेताले बताएका छन् । बुधवार थापाले बालुवाटारमा एक घण्टा लामो छलफल ओलीसंग गरेका थिए ।
त्यस अघि प्रचण्डसंग भएको छलफलमा उनको पदका विषयमा सहमति हुन सकेन । ओलीले उपाध्यक्ष बनाउने अफर गरेकाले थापाले प्रचण्डको साथ छोडेको एक नेताले बताएका छन् ।
प्रचण्ड निकट एक नेताका अनुसार थापाले वरिष्ठ नेता झलनाथ खनालपछिको मर्यादा क्रममा रहने गरी वरिष्ठ उपाध्यक्ष बनाउन गरेको आग्रह प्रचण्डले नमाने पछि उनी ओलीतिर लागेका हुन् । त्यो पद नारायणकाजी श्रेष्ठभन्दा माथिको हुने भएकाले प्रचण्ड सहमत हुन नसकेका हुन् ।
एकीकृत नेकपाको मर्यादा क्रममा पनि थापा श्रेष्ठभन्दा दुई तह पछि भएका वादलको प्रस्ताव प्रचण्डले नमानेका कारण उनी ओली तिर लागेको बताइएको छ ।
ओलीका लागि नेकपा नाम र चुनाव चिन्ह दाबी गर्नका लागि मात्रै होइन कार्यकर्ताबीच सन्देश दिन पनि थापा जस्ता पूर्वमाओवादीका वरिष्ठ नेता चाहिएका कारण उनले सुरु देखि नै थापालाई फकाउँदै आएका छन् ।
पहिलो त ओलीले थापालाई गृहमन्त्रीमा निरन्तरता दिने र पार्टीमा आफुपछिको मर्यादामा रहने गरी उपाध्यक्ष बनाउने बलियो आश्वासन दिएका छन्। दोस्रो, निर्वाचन आयोगले सूर्य चुनाव चिन्ह आफ्नै पार्टीलाई दिने र सर्वोच्च अदालतले संसद पुनस्थापना पनि नगर्ने कुरामा ओलीले थापालाई विश्वस्त तुल्याउन खोजेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij