पुष १२ ,काठमाडौ। जनजातिसँग सम्बन्धित विभिन्न विधाका १४ वटा पुस्तक सार्वजनिक गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङलगायतले आइतबार ती पुस्तक सार्वजनिक गरेका हुन् ।
सरकार मातहत रहेको प्रतिष्ठानले ती पुस्तक प्रकाशित गरेको हो । त्यसमध्ये ‘छन्त्याल जातिको चिनारी’ (इथ्नोग्राफिक प्रोफाइल) एक रहेको छ । यो पुस्तकमा आदिवासी छन्त्यालको इतिहास, थातथलो, सामाजिक संरचना, धार्मिक विश्वास, जीवन चक्रीय संस्कार, संस्कृति, परम्परा, राजनीतिक प्रणाली, जनसंख्या, भाषा, शिक्षा, स्वास्थ्य, आर्थिक पक्ष समेटिएको छ । हरिचन छन्त्यालले अध्ययन अनुसन्धान गरेका हुन् ।
प्रतिष्ठानले सूचिकृत ५९ आदिवासी जनजातिमध्ये २२ वटाको ‘इथ्नोग्राफिक प्रोफाइल’ प्रकाशित गरिसकेको जनाएको छ । त्यसैगरी कानुनविद् डा. कुन्साङ लामा योन्जनद्वारा लिखित ‘आदिवासी जनजातिको अधिकार र नेपालको सन्दर्भ’ पुस्तकसमेत सार्वजनिक गरिएको छ । सार्वजनिक भएका अन्य पुस्तक मुगाल, कुमाल, तमु, राजवंशी, शेर्पा, बान्तावा, वाम्बुले, चाम्लिङ, डगौरा थारु भाषाका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij