देवदह -८ बिशालनगरमा लुम्बिनी बौद्द विश्व विद्यालयको स्वामित्वमा रहेको करिब हेक्टर क्षेत्रफलमा फैलिएको झाडी फाँडेर बाँझो जमिनलाई हरियाली बनाउने अभियानमा त्यहाँका स्थानीय लागेका छन् ।
निर्मल एसपी थापा ,देवदह । जेष्ठ महिनाको प्रचण्ड गर्मी, बाँझो जमिनको झाडी फाँडेर जोडले कोदालो अनि फोरुवा बजार्दै, टप टप पसिना चुहाउदै कडा जमिन संग पैठेजोरी खेल्दै छन् एक हुल महिलाहरुको समूह। संगै युवाहरु पनि चाम्रो माटो मलिलो बनाउँने अभियानमा साथ दिदैं छन्। यो दृश्य हो देवदह -८ बिशालनगरको, लुम्बिनी बौद्द विश्व विद्यालयको स्वामित्वमा रहेको करिब ४ हेक्टर क्षेत्रफलमा फैलिएको झाडी फाँडेर बाँझो जमिनलाई हरियाली बनाउने अभियानमा लागेका छन् त्यहाँका स्थानीय।

लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि २०७७ फाल्गुन ११ गतेको मन्त्रि परिषदको बैठकले देवदह नगरपालिका वडा नम्बर - ८ स्थित बुद्धमावली सामुदायिक वन क्षेत्रको १०० बिघा जग्गा दिने निर्णय गरेको थियो। सोहि जग्गामा विश्व विद्यालयले तपोवनसहितको पूर्वाधार निर्माण गर्नेछ। त्यसको गुरुयोजना लुम्बिनीको बृहत्तर गुरुयोजना बनाउने योजनाकार कोरियन प्रोफेसर क्वाकको टिमले बनाइरहेको छ। विश्व विद्यालयलाई चाहिने भौतिक संरचना बाहेक विश्व विद्यालयले स्थानीय नागरिकलाई उत्पादन संग जोड्न बिभिन्न खालका कार्यक्रम तथा योजना बनाएको विश्व विद्यालयका डिन उकेश राज भुजुले बताए।

जस अन्तर्गत कृषि र पर्यटन संग सम्बन्धित तालिम र स्थानीयलाई उत्पादन संग जोडेर आत्मनिर्भर बनाउन चाहेको विश्व विद्यालयका डिन भुजुले बताउछन। अहिले विश्व विद्यालयको स्वामित्वमा रहेको करिब ४ हेक्टर क्षेत्रफल जमिनलाई हरियाली बनाउने अभियानमा लागेका छन्। जसको नेतृत्व लिएको छ पृथ्वी उमा ज्ञान केन्द्रले। दैनिक४० देखि ५० जनाको समूहले दैनिक रुपमा फडानी तथा विरुवा लगाउने र तालिम समेत लिइरहेका छन्। स्थानीयलाई उत्पादनको आधारमा प्रतिफल दिने योजना रहेको केन्द्रका अध्यक्ष गोबिन्द बहादुर खत्री 'पृथ्वी ' ले जानकारी दिए।

हरित उद्यम समेत भनिएको बहु वर्षीय योजनामा युएनडिपी समेत जोडिएको छ। युएनडिपीले आवश्यकता अनुसार लगानी गर्ने बिउ बिजनको व्यवस्था गरेको छ। हाल आँप, लिची,कागती, कुरिलो र बेसार लगाइएको छ। हरित उद्यम योजना अन्तर्गत सौन्दर्यकरणका लागि फलफुल, आर्थिक उपार्जनका लागि तरकारी उत्पादन गरिएन लक्ष्य रहेको पृथ्वी उमा ज्ञान केन्द्रका उपाध्यक्ष खुमानन्द पन्थीले बताए।
कृषि-अर्थतन्त्र सबल बनाउन बाँझो जमीनलाई सदुपयोग गरि हर्रो, बर्रो, सेतो चन्दन, आँप,लिची, कागती, निम, किम्बु, आलु,जापानिज बेसार,थाइल्याण्ड अदुवा, मेरी वासिंटन कुरिलो, जडिबुटी, ड्रागन फ्रुट आदि लगाइने लक्ष रहेको उपाध्यक्ष पन्थीले जानकारी दिए। विश्व विद्यालयले कृषि बिज्ञान सम्बन्धि अध्यापन गराउने भएको कारण अध्ययन तथा अवलोकनको लागि सहज हुने विश्वास समेत लिइएको छ।
नेपालमा पछिल्लो समय खेति योग्य जमीन बाँझो छाड्ने प्रवृत्ति बढेको छ। कृषिकर्म बाट अर्थतन्त्र सबल बनाउन जमीन बाँझो नराखी उत्पादन बढाउनु जरुरी रहेको छ। कुनै बेला कृषिप्रधान देशको उपमा पाएको नेपाल अहिले कृषि लगायत आयातीत बस्तु प्रयोग गर्नुपर्ने बाध्यता छ।सबैले अब आफ्नो देशको माटो सङ्ग खेलेर बाँझो जमिन उपयोग गर्न लाग्नुपर्ने जरुरी देखिन्छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij