बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

इटाली र स्विजरल्याण्ड जस्तै सुन्दर देखिने ‘कुञ्छाल' गाउँ : जाने होइन त घुम्न ?

इटाली र स्विजरल्याण्ड जस्तै सुन्दर देखिने ‘कुञ्छाल' गाउँ : जाने होइन त घुम्न ?

images
  • 419
    SHARES

  • images
    images
    images
    इटाली र स्विजरल्याण्ड जस्तै सुन्दर देखिने  ‘कुञ्छाल' गाउँ : जाने होइन त घुम्न ?
    images
    images
    images

    अञ्जली थापा हेटौँडा । तपाईलाई अचम्म लाग्न सक्छ, संघीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्न मात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन् । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ। बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ ।

    नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छभने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन् । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ । नगरपालिकाको तथ्याङ्कानुसार ३८औं विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवद्र्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।

    images
    images
    images

    ‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।

    नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान रहेको छ ।

    लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन् । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ। नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि रहेका छन्। यस बस्तीमा एक अनौठो चलन छ। यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो । 

    एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताए । उनका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उनको दाबी छ । उनी भन्छन्, ‘हामीले बोल्ने नेवारी भाषा काठमाडौँमा बोलिने भाषाभन्दा फरक छ’, उनी थप्छन्, ‘शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ ।’ उनका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन् ।

    त्यसैगरी यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूष सरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताइन् । थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उनी सम्झिन्छिन् । तत्कालीन जनयुद्धमा छोरी गुमाएकी उनलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउँछिन् ।

    उनका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउँछिन् । उनका अनुसार यहाँ पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उनको भनाइ छ ।

    थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिए । यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘कुञ्छाललाई एउटा जीवित सङ्ग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ ।’

    मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगर प्रमुख विष्टले जानकारी दिए। नगर प्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उनी बताउँछन्। पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ। महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो। बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ। पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।

    पदयात्राको समेत सम्भावना

    थाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौँबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हँुदै करिब तीन घण्टामा पुग्न सकिन्छ । टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरू गर्न सकिन्छ ।

    बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ । वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हुँदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ ।

    वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर रहेको छ । वाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ । रासस

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij