देवदह । रुपन्देहीको देवदहमा क्रियाशिल सामाजिक संस्था रोहिणी सांस्कृतिक मञ्चको प्रथम साधारणसभा सम्पन्न भएको छ।शनिबार देवदह स्थित पाठक फुडल्याण्डमा संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको हो।
साधारणसभामा मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय कलाकार तेजु अर्यालले लोक संस्कृतिको जगेर्ना गर्नु आजको प्रमुख आवश्यकता रहेको औल्याउँनुभयो। गायक अर्यालले मौलिक पहिचान कायम राख्न युवा पुस्तामा सांस्कृतिक जागरण अभियान संचालन गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं जनप्रतिनिधि झम कुमारी थापा, राष्ट्रिय लोक भजन चुट्का समितिका प्रदेश सदस्य तीर्थ देवकोटा, लुम्बिनी पाना मिडियाका सम्पादक एलबी सर्वुजा मगर, युवा व्यवसायी अर्बेन्द्र गिरि, टोप बहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्दै लोक, कला, संस्कृतिको जगेर्ना गर्न रोहिणी सांस्कृतिक मञ्चले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभएको थियो।
साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष प्रीतम कुमार थापाले संस्था स्थापना भएको छोटो अवधीमै निकै महत्त्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरिएको जानकारी दिनुभयो।
गौतम बुद्दको मावली स्थलको रुपमा परिचित ऐतिहासिक देवदह क्षेत्रको प्रचारप्रसार गरि यहाँको विद्यमान गतिविधिलाई लोककलाको माध्यमबाट प्रचारप्रसार गर्ने उदेश्य सहित स्थापना भएको संस्थाले अति विपन्न परिवारका रोगीहरुको सहयोग, चेलीबेटी बेचबिखन विरुद्ध सचेतना कार्यक्रम, एचआईभी एड्स विरुद्ध सचेतना कार्यक्रम र पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउनको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो।
संस्थाले आगामी दिनमा रोहिणी सांस्कृतिक साँझ आयोजना गर्ने ,सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम तथा प्रतियोगिताहरु संचालन गर्ने "एक गाउँ एक संस्कृति" अभियानको थालनी गर्ने लगायका योजना बनाएको अध्यक्ष थापा मगरको भनाई थियो।
कार्यक्रम संस्थाका सहसचिव केशव पराजुलीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij