सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहको बुद्धकालीन इतिहास, संस्कृति तथा जनजीवन समेटिएको डा. कृष्णप्रसाद न्यौपानेको कृति ‘बुद्धकालीन देवदह’ आइतबार एक कार्यक्रमबीच विमोचन गरिएको छ।देवदहस्थित पाठक फुडल्याण्डमा आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका अनुसन्धान निर्देशक डा. गितु गिरीको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि इतिहासविद् डा. गितु गिरीले देवदहको इतिहास र बौद्धकालीन महत्वलाई समेटेर पुस्तक प्रकाशन हुनु सकारात्मक कार्य भएको बताउनुभयो। उहाँले पुस्तकले देवदहको ऐतिहासिक पहिचानलाई थप उजागर गर्न तथा यसको अध्ययन र अनुसन्धानलाई नयाँ आधार प्रदान गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
डा. गिरीले देवदहमा रहेका ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको संरक्षण र उत्खननका लागि स्थानीय र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। देवदहको इतिहाससँग जोडिएका स्थलहरूको व्यवस्थित अध्ययन, अनुसन्धान तथा पुरातात्विक उत्खनन गर्न सके देवदहको ऐतिहासिक महत्व थप प्रमाणित हुने उहाँको भनाइ थियो।
उहाँले स्थानीय सम्पदा संरक्षणका लागि सरकारको मात्रै प्रयास पर्याप्त नहुने भन्दै नागरिकस्तरबाट समेत सचेतना र सक्रियता आवश्यक रहेको बताउनुभयो। आफ्नै ठाउँमा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय बासिन्दाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
पुस्तकको समीक्षा गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख आचार्य दयानिधी, साहित्यकार निर्मल ढुंगाना र उषा केसीले कृतिले देवदहको बुद्धकालीन इतिहास, संस्कृति र सामाजिक जीवनका विविध पक्षलाई अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
लेखक डा. कृष्णप्रसाद न्यौपानेले लामो समयको अध्ययन, अनुसन्धान र खोजपछि पुस्तक तयार पारिएको बताउनुभयो। उहाँका अनुसार कृतिमा उपलब्ध ऐतिहासिक स्रोत, तथ्य तथा अध्ययनका आधारमा देवदहको बुद्धकालीन अवस्थालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।
कार्यक्रममा देवदहको इतिहास, पुरातात्विक सम्पदा तथा बौद्धकालीन महत्वका विषयमा थप अध्ययन र अनुसन्धानलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको थियो।
लेखक न्यौपानेको जीवनी र लेखन यात्राबारे गणेश डुम्रेले प्रकाश पारेको कार्यक्रममा साहित्यकार, कलाकार राम बहादुर गुरुङ, यमलाल अर्याल, दुर्गालाल तिवारी र सरस्वती बश्याल, तेजु अर्याले रचना वाचन एवं प्रस्तुति राखेका थिए।
कृति विमोचनको औपचारिक कार्यक्रम देवदह डेभलपमेन्ट सोसाइटीका अध्यक्ष भिम प्रसाद गुरुङको अध्यक्षता, युगिन साहित्य समाजका अध्यक्ष गणेश न्यौपानेको स्वागत र साहित्यकार यज्ञ प्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij