बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो ।
पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुलको निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । शुरुमा नेपालकै लामो झोलुङ्गे पुल (सिङ्गल स्पान) भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दावी छ ।
सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार विश्वभरको तथ्याङ्क वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झुलुङ्गे पुल जम्मा ४९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij