रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी कार्यक्रम स्थानीयवासीले बिथोलेका छन् । अर्थमन्त्री पौडेलले मञ्चमा उभिएर बोल्दै गर्दा स्थानीयवासीले आक्रमण गरेपछि कार्यक्रम बिथोलिएको हो । यसअघि पनि स्थानीयवासीले विरोध जनाएपछि शिलान्यास कार्यक्रम आजका लागि सारिएको थियो ।
स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र वैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेको करिडोर क्षेत्रमा भएको झडपमा कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना सशस्त्र प्रहरीसहित केही प्रहरी घाइते भएका छन् ।
अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन बिहानैदेखि उपस्थित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि प्रहरीको पछाडिबाट पौडेल समर्थक कार्यकर्ताहरुले पनि ढुंगा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले पटक-पटक लाठी चार्ज गरेको छ भने स्थानीयवासीले पनि शिलान्यासस्थलमा प्रवेश गर्न प्रयास गरिरहेका छन् ।
पौडेल सम्बोधन बीचमै रोकेर हिँडे पनि सो क्षेत्रमा तनाव रोकिएको छैन । शिलान्यास गरिएको क्षेत्र भत्काउन स्थानीयले प्रयास जारी राखेका छन् भने प्रहरीले उनीहरुलाई रोक्न लाठी चार्ज गरेको छ । सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेर शिलान्यास सम्पन्न गरे पनि शिलान्यास स्थलनै जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij