काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि आजदेखि सुनुवाइ सुरु हुँदै छ ।
संसद (प्रतिनिधिसभा) विघटन विरुद्ध सर्वोच्चमा ३० रिट निवेदन दर्ता भएका छन् । जसमा विपक्षी गठबन्धनका १४६ जनाको हस्ताक्षरसहितको रिट समेत छ । ती रिटमाथि आज (बिहीबार)देखि नियमित इजलासमा सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको मात्र सुनुवाइ आज हुन लागेको हो ।
तर संवैधानिक इजलासका लागि तोकिएको मुद्दा भने भोलि शुक्रबारदेखि सुनुवाइ हुने अदालतले जनाएको छ। संवैधानिक इजलासका लागि तोकिएका ११ रिट रहेका छन् ।
विपक्षी रिट निवेदकहरुले संसद विघटन असंवैधानिक रहेको भन्दै प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषदको सिफारिस बदर गर्नुपर्ने र संसद पुनस्र्थापना हुनुपर्ने माग गरेका छन् । संसद विघटनकाे विपक्षमा २६ वटा रिट निवेदन परेका छन् ।
यसैगरी संसद विघटन जायज मान्ने र केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने तथा तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा ४ वटा रिट दर्ता भएका छन् ।रासस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij